//पार्टी एकतापछिको पहिलो कार्यक्रम

पार्टी एकतापछिको पहिलो कार्यक्रम

अध्यक्ष प्रचण्ड उपस्तित हुन पाएनन्
काठमाडौं । दशैं र तिहारको अवसर पारेर राजनीतिक दलहरुले विगत वर्षहरुमा आयोजना गरेजस्तै शुभकामना आदानप्रदान कार्यक्रम धमाधम राख्न थालेका छन् । सत्तारुढ दल नेकपाले यो वर्षको शुभकामना आदानप्रदान कार्यक्रम भृकुटीमण्डपमा आयोजना गरेको छ । कात्तिक १० गते शनिबार मध्यान्ह १२ बजेदेखि कार्यकर्ता तथा शुभचिन्तकहरुका निम्ति, ३ बजेदेखि ५ बजेसम्म कुटनीतिक नियोग र उच्चपदस्थ प्रशासक तथा राजनीतिज्ञहरुका लागि समय छुट्याइएको बुझिएको छ । संयोगवश यो कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी हुने छैनन् । उनी शुक्रबारै भारतको दुई दिने भ्रमणमा निस्कने भएका छन् । इण्डियन फाउन्डेसनद्वारा आयोजित विचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा सहभागी हुन प्रचण्ड भारत जान लागेका हुन् । पार्टीको आन्तरिक विवाद समाधान भएपछि देश विदेश भ्रमणमा निस्केका नेताहरु शनिबारको दिन आङ्खनै पार्टीको कार्यक्रममा को कति सहभागी हुन्छन् त्यो भने प्रतिक्षाको विषय बन्दैछ । नेकपाका सचिवालय सदस्य योगेश भट्टराईकानुसार, यस पटकको चियापान कार्यक्रम विगतका कार्यक्रमहरुभन्दा पृथक रहने छ । विगतमा नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने गर्दथे । पार्टी एकतापछिको पहिलो सार्वजनिक कार्यक्रम भएकाले पनि यस पटकको चियापान कार्यक्रममा आमन्त्रितहरुबाहेक पार्टी कार्यकर्ता र शुभचिन्तकहरु नै लगभग ४० हजारको हाराहारीमा पुग्ने विश्वास गरिएको छ ।