//तेल तस्करी रोक्न यसो गरे कसो होला ?

तेल तस्करी रोक्न यसो गरे कसो होला ?

प्रमुखका लागि १७ भाइ भिड्दै
काठमाडौं । भारतबाट नेपालले आयात गर्ने इन्धन भारतमै तस्करी हुन्छ भन्दा पत्यार लाग्दैन । तर नेपालले डलरमा भुक्तानी गरेर देश भिœयाएको पेट्रोल र डिजेल नेपालमा भन्दा भारतमा महंगो भएकोले यो स्थिति आएको हो । सीमा क्षेत्रका पेट्रोल पम्पहरुबाट हुने यस्तो कारोबारमा नेपाल आयल निगमका डिपोहरुले रोक्न सक्ने अवस्था हुँदैन । स्थानीय प्रशासन, प्रहरी, सीमा सुरक्षा बल, र स्थानीय निकायका प्रतिनिधिहरु चनाखो हुने हो भने इन्धन तस्करी रोकिने निश्चित छ, तर त्यसतर्फ कसैको ध्यान पुगेको देखिँदैन ।

घाटामा चलेको नेपाल आयल निगमले केन्द्रीय तहबाट सरकारको तर्फबाट तस्करी हुन नदिने प्रबन्ध गर्न सक्छ । तेल बेच्ने हो बिकेको छ भन्दै कान ढाल्ने प्रचलन पूरानो हो । सीमा क्षेत्रका बिराटनगर, झापा, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, धनगढी जस्ता नाकाहरुमा स्थानीय प्रशासनले प्रहरीको सहयोग लियो भने यो समस्या समस्याकै रुपमा रहँदैन । नेपाल आयल निगमको नेतृत्वले अहिले त्यसतर्फ ध्यान दिएको देखिँदैन । पहिले बिराटनगर डीपो प्रमुख रहेका थानकोट डिपो प्रमुख भरत रेग्मीकाअनुसार, भारतबाट नेपालमा सामान लिएर आएका ठूला लरी तथा ट्रकहरुले भारतमा भन्दा नोपलमा सस्तो भएपछि ट्याङ्की भरी इन्धन भर्नु स्वाभाविक हो । मानवीयताले पनि नेपालमा सामान ल्याउने सवारी साधनहरुलाई इन्धन नभर भन्न मिल्दैन । नेपालबाट भारतमै इन्धन बोक्न जाने ट्याङ्करले आफूलाई आवश्यक पर्ने इन्धन भरेर जानु पनि स्वाभाविकै हो । बरु गलत नियतले नेपालबाट इन्धन भारत जान्छ भने रोक्ने उपाय स्थानीय प्रशासन र जनप्रतिनिधिनै चनाखो हुनुपर्छ । निगमका डिपो प्रमुखहरु सबै एकै प्रवृत्तिका छैनन् । त्यही कारण यो समस्यामा आयल निगमको केन्द्रीय तहबाटै पहल हुन सकेको खण्डमा तेलको तस्करी रोकिने जनअपेक्षा रहेको छ ।

यसैबीच, सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्तिका निम्ति आवेदन आह्वान गरेको छ । निगमका भूतपूर्व कर्मचारीहरुको बर्चश्व रहेको यो टिममा १७ जना पुगेका छन् । तीमध्ये केही अनुहारहरु विभिन्न संस्थानहरुको नेतृत्व लिँदा विवादमा परेका पनि थिए । प्रतिस्पर्धाका आधारमा कार्यकारी निर्देशक नियुक्त गर्न सरकारले देखाएको चासो वैज्ञानिक हो । तर, यस्तै समयमा माफियाहरुले चलखेल गर्ने र मन्त्रीलाई समेत हात लिन सक्ने भएकाले निगमको विषयमा अनुभवी र स्वच्छ अनुहारको खोजी हुनु समयको माग हो । अहिले निमित्त कार्यकारीका रुपमा रहेका सुशील भट्टराई पनि कार्यकारीका निम्ति आकांक्षी उम्मेदवार हुन् । सुशील भट्टराई निमित्त भएपछि निगमलाई सुधार्ने अभियान चलाएका छन् । यो अभियानअन्तर्गत भारतका विभिन्न स्थानबाट ट्याङ्करमा इन्धन भरिएपछि चावी लगाउने नियम लागू भएको छ । यो नियम लागू भएपछि बाटोमा हुने ‘चुहावट’ पूर्ण रुपमा नियन्त्रणमा आएको वितरण पमुख विरेन्द्र गोइतले जानकारी दिएका छन् ।