Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवउदारवादले मजदुर र आम जनतामाथि शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद जरुरी रहेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार गठन भएपछि मजदुर र आमजनताको हितमा केही महत्वपूर्ण काम तथा निर्णय भएको उल्लेख गरे। वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको जानकारी दिँदै त्यसबाट लाखौं नेपाली नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे।
राहदानी लिनैका लागि लामो समयसम्म लाइनमा रहनुपर्ने बाध्यताको अन्त्य भएको,सवारी चालक अनुमतिपत्रमा रहेको समस्या क्रमशः हटेको र विद्यालयमा भर्ना हुनु अगावै देशैभरका विद्यार्थीले सहज रुपमा पाठ्यपुस्तक पहिलो पटक पाएको भन्दै प्रधानमन्त्री दाहालले प्रशन्नता व्यक्त गरे।
सरकारको साझा कार्यक्रममा प्रतिनिधिसभामा आफूले गरेको सम्बोधनमा सामाजिक न्याय र श्रमिकको हक अधिकारलाई विशेष प्राथकितामा राखेको र सोही अनुसारका गतिविधि अगाडि बढाएको उनको भनाइ छ । सरकारले सुशासन र समृद्धिलाई विशेष प्राथमिकतामा राखेको तथ्य पेस गर्दै २०४८ सालदेखिका सबै भ्रष्टाचारको विषयमा छानबिन गर्न छिट्टै उच्चस्तरीय आयोग गठन गरिने बताए।
प्रधानमन्त्री प्रचण्डले भने,निर्वाचन घोषणापत्र अनुसार, २०४८ सालदेखिका सबै भ्रष्टाचार छानबिनका लागि छिट्टै आयोग बनाउने तयारी गरिएको छ । यसो गरेपछि कतिपय छटपटाउन थालेका छन् ।
सरकारले केही सकारात्मक कामको सुरुवात गरेपछि जनविरोधी तत्वले गलत प्रचार गरेको प्रधानमन्त्रीको भनाइ छ । सरकारले देश र जनताको पक्षमा धमाधम निर्णय गर्न थालेपछि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी तत्वलाई सह्य नभएकाले विरोधमा उत्रिएको र नेपाली जनतालाई भ्रम दिन खोजेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।
नेपाली जनताले त्याग र बलिनदानबाट स्थापित गरेको प्रणालीमाथि विभिन्न कोणबाट आक्रमण भएकाले त्यसलाई परास्त गर्न मजदुर वर्गले सशक्त प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल