Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी भएको थियो सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट

काठमाडौं । बुधबार राति खाना खाइवरीकन नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा सुत्ने तरखरमा थिए। काठमाडौंको बुद्धनगरस्थित घरको भुइँतल्लामा भण्डारी र उनकी आमा ८६ वर्षीय हरिकला भण्डारीमात्रै थिए। राति साढे १० बजेतिर ग्यास लिक भएको गन्ध आयो। हरिकलाले छोरा चन्द्रलाई बोलाए। चन्द्रले बत्ति बालेसँगै सिलिन्डर विस्फोट भयो।
‘ग्यासको गन्ध आएपछि आमाले छोरालाई बोलाउनुभएछ। लगत्तै सांसद भण्डारी के भएको हो भनेर बत्ती बाल्नु भएछ,’ काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालले भने,‘बत्ती बालेसँगै स्पार्क निस्केर फैलिएको ग्यासमा आगो सल्कियो र विस्फोट भएको भन्ने अहिलेसम्म बुझेका छौं।’ अरू विषयमा अनुसन्धान भइरहेको उनले बताए।
विस्फोटपछि झ्यालका सिसाहरू फुटेका छन्। आगलागीबाट भण्डारीकी आमाले लगाएका सबै कपडाहरू जलेर शरीरका विभिन्न भागमा चोटघाउ लागेको थियो। तातो हावा र ग्यास फोक्सोसम्म पुगेपछि दुवैको अवस्था गम्भीर बनेको कीर्तिपुर वर्न अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आमाको शरीररको ७० प्रतिशत भागमा जलन भएको अस्पतालले जनाएकोछ। सांसद भण्डारीको २५–३० प्रतिशत शरीरको भाग जलेको छ।
फोक्सोसम्म ग्यास र तातो हावाको असर परेकोले उनको पनि स्वास्थ्य अवस्था सहज नभएकाले थप उपचारका लागि भारत लान चिकित्सकहरूले रेफर गरेका छन्। भण्डारीको अनुहार र हातखुट्टामा जलन भएको छ। गहिरो गरी पोलेको घाउमा छाला नै फेर्नुपर्ने भएकाले नेपालमा सम्भव नहुने भन्दै अस्पतालले भारतको मुम्बइस्थित नेसल नबर्न सेन्टरमा रेफर गरेको हो। भण्डारीले भारतमा उपचार गराउन मानेका थिएनन्। तर, परिवार र कांग्रेस नेताहरूले समस्या बढ्नसक्ने भन्दै सचेत गराएपछि उनी तयार भएका हुन्। विस्फोटमा गम्भीर घाइते भएकी सांसद भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा बिहीबार बिहान निधन भएको छ।