Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महायोगी गुरु गोरखनाथबारे खोजपूर्ण पुस्तक

मोहन लामा
शैव परम्परा र अद्वैतवादसँग आवद्ध नाथ परम्पराको बृतान्त व्यापक छ । यो ब्रम्हाण्डीय व्यापकतालाई लेखकले खोज र अनुसन्धनद्वारा सिमित भूखण्डको इतिहास, साहित्य, र पुराणकै आधारमा पनि समेट्न सक्नु कठिन विषय हो । यही कठिनताका बीचमा लेखकले पुस्तक तयार गरेका छन् । विश्व ब्रम्हाण्डलाई नै सृष्टि, स्थिति र संहार गरी सुव्यवस्थित गर्न सक्ने रहस्य जनानीनसक्नु र बुझिनसक्नु छ ।

यस ग्रन्थमा महायोगी गुरु गोरखनाथ, सिद्ध बुद्ध सम्बन्धी जानकारी पिर (मौलाना) नाथ मुसलमान, नेपाल पुन एकीकरणमा महायोगी गुरु गोरखनाथको सुक्ष्म उपस्थिति पृथ्वीनारायण शाहले कीर्तिपुरको युद्ध हारेपछि नाथ गुरु योगी भगवन्त नाथद्वारा धर्मोपदेश लगायतका ऐतिहासिक सामग्रीहरू समेटिएको छ । साँस्कृतिक स्वाधिनताको वर्तमान र नयाँ विश्व व्यवस्थाको सेरोफेरोमा लेखकले कतै क्षेप्यास्त्र र कतै स्वचालित मेशिनगनका पर्राहरू हानेका छन् । पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, बौद्धनाथ, जगन्नाथ, द्वारिकानाथ, बद्रिनाथ, केदारनाथ, चन्दननाथ, रत्ननाथ, विश्वनाथआदि पवित्र र प्राचिन तीर्थस्थलहरूको नाममा नाथ जोडिएको र समन्वयात्मक अध्यात्मवादको पाटोलाई लेखकले पुस्तकमा रोचक र सरल तवरले सर्वसाधारण पाठकले बुझ्ने गरी प्रस्तुत गरेका छन् ।

गजबको संयोग संसारका कुनै पनि अन्वेषक, बुद्धिजीवी, लेखक विद्वानहरूले महायोगी गुरु गोरखनाथको अवतरणको निश्चित तिथिमिति पत्ता लगाउन सकेका छैनन् । तर उहाँको उपस्थिति चारै युग र प्रत्येक सशताब्दीमा पाइन्छ । बुद्ध, राम, कृष्ण, महावीर गुरु नानक, मजहथ मोहमदलगायत ताव, कन्फुसियस आदिका जन्म तिथि मिति पाइन्छन् । आ–आफ्नो देश, कालअनुसार मनाउँदै आइरहेका छन् । तर महायोगी गुरु गोरखनाथबारे कसैले भन्न सक्दैन । भौतिकवादी, नास्तिक, धर्मनिरपेक्षतावादीहरूलाई प्रमाण र पदार्थका आधारमा बहस चलाउने प्रवृत्तिलाई यो चुनौती हो ।

पुस्तकमा नेपालमा चौथो शताब्दीपछि पटक पटक योगी गुरुहरूको उपस्थिति रहेको ऐतिहासिक प्राप्त अभिलेखहरूले पुष्टि गर्दछ । गोरखनाथका गुरु मत्स्येन्द्रनाथको रथयात्रा त्यसको ज्वलन्त प्रमाण हो । यी विषयहरूलाई लेखकले मिहिन रुपमा समेटेका छन् । आफ्नो भूमिकामै लेखकले लेखेकाछन्, महानयोगीहरूको आदि र अन्त्य छैन र हुँदैन पनि । यसकारण यो पुस्तक आफ्नो प्रारम्भिक प्रयास हो भने पनि खोज र अनुसन्धानद्वारा पुस्तक यति खदिलो छ कि महायोगी गोरखनाथको विषयका नेपालको इतिहाससँग समेटेर यस्तो पुस्तक अहिलेसम्म लेखिएको थिएन । यसकारण भन्नै पर्दछ जसरी १०४ वर्षीय जहानीय राणा शासनको समयमा पृथ्वीनारायण शाहका दिव्य उपदेश र इतिहास नेपालमा प्रकाशन गर्न नदिएपछि विक्रमसंवत १९७२ मा शुर्यविक्रम ज्ञवालीले दार्जिलिङबाट पृथ्वीनारयण शाहको इतिहास लेखेका थिए ।

पृथ्वीनारायण शाहको इतिहास लेख्ने सूर्यविक्रम ज्ञवाली पहिलो लेखक भएजस्तै महायोगी गुरु गोरखनाथको विषयमा केन्द्रीत इतिहास नेपाल एकीकरणसँग समेटिएको पुस्तकका लेखक अर्जुन ज्ञवाली पहिलो लेखक हुन् भन्दा अतियुक्ति हुने छैन । तथापि नाथ साहित्यमा योगी नरहरि नाथ, कुलचन्द्र कोइराला, टंकप्रसाद आचार्य, कान्तालाल प्रधान, दिनेशराज पन्त, महेशराज पन्त, नइनराज पन्त, डम्बरजंग थापा, विश्वनाथ चापागाई, बलभद्रनाथ योगीलगायतका विद्वान नाथगुरुहरू राष्ट्र एकीकरणका यथार्थ स्थिति प्रष्ट्याउने ऐतिहासिक प्रमाण प्रष्ट्याउँदै भावी पीडिलाई महायोगी गुरु गोरखनाथको विषयमा खोज्न र अनुसन्धान गर्न, लेख्न लेखकले घचघच्याएका छन् । यो पुस्तक एक पटक सबै क्षेत्रका विद्वानहरूले पढ्नुपर्ने देखिन्छ ।