Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी एवं प्रदेशसभा सदस्य प्रकाश बहादुर देउवामाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
प्रकाश बहादुर देउवा हाल अमेरिकामा रहेकाले उनको सम्पत्ति विवरण भराउने र बयान लिने प्रयास भइरहेको छ ।
भानु देउवा र गंगा दाहालको हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेपछि अख्तियारले उनीहरूको सम्पत्ति विवरण माग गर्दै विभिन्न निकायमा पत्राचार गरेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना पूर्वप्रधानमन्त्रीहरुका स्वकीय सचिव र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगीमाथि अनुसन्धान अघि बढाएको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव भएर लामो समय काम गरेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी एवं स्वकीय भएर काम गरेकी गंगा दाहालबारे अनुसन्धान थालेको हो ।
आयोगले पूर्व परराष्ट्रमन्त्रीको सहयोगी तथा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश बहादुर देउवामाथि पनि अनुसन्धान गरिरहेको छ । प्रकाश बहादुर देउवा २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ , २ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी २०७९ माघमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । उनी कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का स्थानीय हुन् । प्रकाश र भानु पूर्व प्रधानमन्त्री शेरबहादुरका भतिजा हुन् ।
तीनैजना माथि अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रकाश देउवा सांसद र पूर्वमन्त्री भएर सार्वजनिक पद धारण गरेको हुनाले उनीमाथि अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो । प्रकाश अहिले अमेरिकामा छन् । अख्तियारका एक जना उच्च अधिकारी भन्छन्, प्रकाश अमेरिकामा भएको सूचना पाएका छौँ, सम्पत्तिको फारम भराउने र बयाने लिने प्रयास हुँदैछ ।
भानु र गंगाबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेको अख्तियारका उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
करिब १ साताअघि सम्पत्ति शुद्धीकरणको पत्र प्राप्त भएसँगै अख्तियारले भानु र गंगाको सम्पत्ति विवरण माग गर्दै विभिन्न निकायमा पत्राचार गरेको छ । अख्तियारका उच्च अधिकृत भन्छन्, पत्राचारको काम भइरहेको छ । सम्पत्ति विवरण सङ्कलन गरेपछि उनीहरूलाई सम्पत्ति सम्बन्धी फारम भराउने र बयान लिने काम हुनेछ । अनुसन्धान अधिकृतहरूले अहिले बैंक खातामार्फत भएको रकमको विवरण र शेयर लगत विवरण सङ्कलन गरिरहेका छन् ।
परराष्ट्रमन्त्री हुँदा विद्युतीय राहदानी छपाइको ठेक्कामा अनियमितता गरेको कसुरमा अख्तियारले यसअघि आरजुमाथि पनि अनुसन्धान गरेको थियो । तर, असार ८ मा विशेष अदालतमा मुद्दा दायर गर्दा आरजुलाई प्रतिवादी कायम गरिएको थिएन ।
अहिले विदेशमा रहेकी आरजु राणाको बयान नभएको र भन्दै अख्तियारले उनीबारे थप अनुसन्धान गर्ने निर्णय गरेको थियो । आरजु राणा देउवा परराष्ट्रमन्त्री हुँदा विद्युतीय राहदानी छपाइको ठेक्का स्वीकृत भएको थियो ।
जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले ‘मिलेमतो’मा दुईवटा प्याकेजको ठेक्का लिएको अख्तियारको अनुसन्धान निष्कर्ष छ । सुरुमा सहयोगीको रूपमा काम गरेका प्रकाश आरजु मन्त्री हुँदा भने सचिवालयमा थिएनन् । शेरबहादुर र आरजुकै कारण कैलालीबाट टिकट लिएर उनी सांसद र मन्त्री बनेको नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरू बताउँछन् ।
ओलीका स्वकीयमाथि अनुसन्धान चल्दै
अख्तियारले जेठ अन्तिम सातादेखि पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि अनुसन्धान गरिरहेको छ । अकुत सम्पत्ति आर्जन गरेको आशङ्कामा आयोगले उनीमाथि अनुसन्धान गरेको हो । आयोगले बज्राचार्यलाई सम्पत्ति विवरण फारम भराएको छ । बज्राचार्यले सम्पत्ति विवरण सम्बन्धी १३ पन्ने फारम भरेर अख्तियारमा बुझाएका हुन् । सम्पत्ति विवरणमाथि अनुसन्धान गर्दा गैरकानुनी रूपमा आर्जन गरेको भेटिएमा आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने कानुनी व्यवस्था छ ।
यत्ति समूहको थामसेर्कु ट्रेकिङले दरबारमार्ग स्थित नेपाल ट्रस्टको जग्गा लिजमा लिँदा भएको अनियमितता बारे अनुसन्धान गर्दा बज्राचार्यको कनेक्सन देखिएको थियो । राजेश बज्राचार्य र उनकी पत्नी रश्मि शाक्यले यति समूहबाट बालकोटस्थित रोज भिलेज हाउजिङभित्रको झण्डै चार आना जग्गामा बनेको घर घुस बापत लिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानको निष्कर्ष छ ।
त्यसबेला बज्राचार्यलाई सरकारी वकिलले उन्मुक्ति दिएको थियो । २०८२ पुसमा ब्यूरोले उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारमा लेखेर पठाएको थियो ।
२०८३ श्रावण २६
ताजा नेपाल
२०८३ श्रावण २६
ताजा नेपाल
२०८३ श्रावण २६
ताजा नेपाल