Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब काका ससुराले पनि मिर्गौला दिन पाउँछ : सर्वोच्च

१६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ ।
सर्वोच्चले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश दिएको छ ।मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै उनको मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेको थियो । अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उनको मिर्गौला दान लिन नमिल्ने जिकिर गरेको थियो ।
काका–ससुरा मिर्गौला दान गर्न राजी हुँदा पनि प्रत्यारोपण गर्न नपाएपछि ती बिरामीले अस्पतालको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
न्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले मानव अंग प्रत्यारोपण केन्द्रको निर्णय बदर गर्दै मिर्गौला –दान गर्न दिनु भनी आदेश गरेको हो । ‘ऐनको मूल उद्देश्य मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरीद बिक्री जस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ’ गत आइतबारको आदेशमा भनिएको छ, ‘काका ससूरालाई ऐनमा स्पष्ट रुपमा प्रत्यारोपणका लागि बाहेक गरेको देखिदैन ।’
सर्वोच्च अदालतले मिर्गौला दान गर्न काका ससुराको मन्जुरी भएको र त्यो कामलाई रोक्नुपर्ने आधारभूत कारण नभएको उल्लेख गरेको छ । काका ससुराले स्वेच्छिक रुपमा दान गरी बुहारीको जीवन रक्षामा योगदान पुयाउने पवित्र मानवीय दृष्टिकोणबाट वञ्चित गर्न नमिल्ने सर्वोच्चले फैसलामा उल्लेख गरेको छ ।
आदेशमा भनिएको छ, ‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति २०७८ साउन २२ गतेको पत्र र त्यससँग सम्बन्धित निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हने ठहर्छ ।’
सर्वोच्चले मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानूनी व्यवस्था गर्नुपर्ने औल्याएको छ । अनि मिर्गौला प्रत्यारोपणका क्रममा चिकित्सकिय रित पुर्‍याउन आदेश दिएको छ