Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकी राजदूतको दौडधुप बढ्यो

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता बढिरहेको बेला छिमेकी र विदेशीहरुको दौडधूप बढेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुर्‍याउदै आएको छ ।
बेरीले बुधबार मात्र नेकपा प्रचण्ड–नेपाल समूह का अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा भेटेका थिए । यस्तै माघ १२ गते सोमबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार र काँग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर भेटवार्ता गरेका थिए ।
त्यसअघि माघ ८ गते बेलुकी राजदूत बेरी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनको विश्वव्यापी प्राथमिकताहरूबारे छलफल भएको बेरीले जानकारी दिएका थिए । नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरुबारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका भएको बताएका थिए । लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता रहेको भेटवार्तापछि उनको भनाइ थियो । तर नेपालमा राजनीतिक तरलता पैदा भएका बेला राजदूत बेरीको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ