Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थ मन्त्रालयमा चार सहसचिवको जिम्मेवारी हेरफेर, बजेट र राजस्व महाशाखामा नयाँ नेतृत्व

काठमाडौं । अर्थ मन्त्रालयमा कार्यरत चार सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। मन्त्रालय स्रोतका अनुसार बजेट, राजस्व व्यवस्थापन, भन्सार प्रशासन तथा ठूला करदाता कार्यालयमा नयाँ जिम्मेवारी तोकिएको हो।

मन्त्रालयका सहसचिव एवं बजेट महाशाखा प्रमुख सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त पद केही समयदेखि रिक्त रहेको थियो।

बजेट व्यवस्थापन महाशाखाको प्रमुखमा लुम्बिनी प्रदेशबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बास्तोलालाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, कोशी प्रदेशबाट मन्त्रालयमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।

ठूला करदाता कार्यालयमा प्रेम आचार्य

मन्त्रालयले सहसचिव प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिएको छ।

यसअघि उक्त कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले राजीनामा दिएपछि पद रिक्त रहेको थियो।

यस्तै, लोकसेवा आयोग कोशीबाट हालै सरुवा भएर आएका सहसचिव गोकुल बास्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ।

मन्त्रालयमा भएको जिम्मेवारी हेरफेरसँगै बजेट व्यवस्थापन, राजस्व प्रशासन र कर संकलनसम्बन्धी काममा नयाँ नेतृत्व आएको छ।