Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असार १५ सम्म पनि छैन संसदमा प्रमको सम्बोधन

काठमाडौं । प्रतिनिधि सभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ। संसद् सचिवालयले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ अनुसार शनिबार उक्त क्यालेन्डर सार्वजनिक गरेको हो। तर, यसपटकको कार्यतालिकामा प्रधानमन्त्री वालेन्द्र शाहसँग हुने नियमित प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन । प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रत्येक महिनाको पहिलो सातामा एक दिन प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्न पाउने कार्यक्रम राख्नुपर्ने हुन्छ। नियम ५६ मा सभामुखले प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरका लागि बैठकको पहिलो एक घण्टा छुट्याउनुपर्ने उल्लेख छ। यसअघिका सबै प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिँदै आएका भए पनि हाल सार्वजनिक गरिएको क्यालेन्डरमा यस्तो कार्यक्रम नराखिएको देखिएको छ। क्यालेन्डरअनुसार जेठ ४ र ५ गतेको बैठकमा शून्य समयसहित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ। जेठ ६ गते भने उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिने, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल गर्ने तथा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची राखिएको छ। यस्तै, जेठ ७ गते राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयकमाथि विचार गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी गरिएको छ। त्यसपछि अर्को बैठक जेठ १२ गतेका लागि तय गरिएको छ। असार महिनाको पहिलो सातामा तीन वटा बैठक बस्ने सम्भावित कार्यतालिका छ। असार १ गते विनियोजन विधेयक २०८३ अन्तर्गत उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको छ। असार २ गते विभिन्न मन्त्रालयका खर्च कटौती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने र विनियोजन विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। त्यसैगरी, असार ३ गते राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ माथि विचार गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। असार ८ गते बस्ने बैठकमा यी दुवै विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने तयारी गरिएको क्यालेन्डरमा उल्लेख छ।