Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्पताल कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। आचारसंहिताले सेवाग्राहीप्रतिको व्यवहार, पेसागत आचरण, राजनीतिक तटस्थता तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिएको छ।

मन्त्रालयले जारी गरेको आचारसंहिताअनुसार अस्पतालका सबै कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दा कुनै पनि राजनीतिक आस्था वा विचारबाट प्रभावित हुन नहुने र पूर्ण राजनीतिक तटस्थता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

आचारसंहितामा सेवाग्राहीको अधिकारको सम्मान गर्दै महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकप्रति विशेष सहयोगी व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ। साथै बिरामी, कुरुवा तथा सेवाग्राहीप्रति सम्मानजनक, शिष्ट, सहानुभूतिपूर्ण र सेवामुखी व्यवहार गर्नुपर्ने तथा जात, धर्म, लिङ्ग, भाषा वा आर्थिक अवस्थाका आधारमा कुनै पनि प्रकारको विभेद गर्न नहुने व्यवस्था गरिएको छ।

यस्तै, आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा दिनुपर्ने उल्लेख गरिएको छ। बिरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी विवरण गोप्य राख्नुपर्ने, उपचार प्रक्रिया, सेवाशुल्क तथा अन्य जानकारी स्पष्ट रूपमा उपलब्ध गराउनुपर्ने र अनावश्यक रूपमा सेवाग्राहीलाई प्रतीक्षा गराउने वा विभिन्न कक्षमा भौतारिन बाध्य पार्न नहुने पनि आचारसंहितामा समेटिएको छ।

मन्त्रालयले कर्मचारीलाई इमान्दारिता, निष्पक्षता, उत्तरदायित्व र पेसागत दक्षताका साथ स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन दिएको छ। सेवाका क्रममा कुनै पनि प्रकारको घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ लिन, दिन वा माग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

अस्पतालको सम्पत्ति, औषधि, उपकरण तथा अन्य स्रोत–साधनको संरक्षण, संक्रमण नियन्त्रण, सरसफाइ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका मापदण्ड पालना गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। सहकर्मी तथा सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने र कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौन दुर्व्यवहार गर्न नहुने उल्लेख गरिएको छ।

विपद्, महामारी वा आकस्मिक अवस्थाका बेला उच्च जिम्मेवारीका साथ सेवा प्रवाह गर्नुपर्ने तथा आफ्नो व्यवहारबाट अस्पतालको गरिमा र जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ।

सामाजिक सञ्जालको प्रयोगसम्बन्धी व्यवस्थाअनुसार कर्मचारीले पदीय हैसियतका आधारमा प्राप्त कार्यालयसम्बन्धी सूचना वा जानकारी कानुनले अनुमति दिएको अवस्थाबाहेक सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न नपाउने व्यवस्था गरिएको छ। साथै सरकारी निर्णयको गलत अर्थ लाग्ने गरी सूचना वा सामग्री प्रचारप्रसार गर्न पनि निषेध गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नयाँ आचारसंहिताको उद्देश्य स्वास्थ्य संस्थामा अनुशासित, पारदर्शी, उत्तरदायी र सेवामुखी कार्यसंस्कृतिको विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु हो।