Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजदेखि दर्ता नभएका मोबाइल बन्द

काठमाडौं । अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्दैछ। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। पहिलो चरणमा अहिले प्रयोग भइरहेका ८ सयदेखि एक हजार मोवाइल सेट ब्लक हुने अनुमान प्राधिकरणले गरेको छ। गत वर्ष असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको एमडीएमएस प्रणालीलाई आजदेखि लागू गर्न लागिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको छ। एमडीएमएसमा दर्ता नभएका यस्ता करिब १० हजार मोवाइल सेट नेपालमा प्रयोग भइरहेको अनुमान प्राधिकरणले गरेको छ। आजदेखि क्रमिक रूपमा प्रत्येक दिन आठ सयदेखि एक हजारवटा सेट ब्लक गरिने खनालले जानकारी दिए। पहिलो चरणमा प्राधिकरणले हाइप्रोफाइललाई लक्षित गरेर मोवाइल ब्लक गर्न लागिएको जनाएको छ। प्राधिकरणले एमडीएमएस लागू गर्नुपूर्व यही कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र विदेशबाट ल्याइएको मोवाइल दर्ता गरिसक्न जानकारी गराएको थियो। प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकिएको जनाएको छ। तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएका प्राधिकरणका अध्यक्ष खनालले बताए। प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा अझै दर्ता भएका छैनन्। बजारमा अवैध मोबाइलको कारोबार रोक्न प्राधिकरणले एमडीएमएस प्रणाली लागू गरेको हो।


सम्बन्धित समाचार