Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै कार्यकर्ताको होहल्लापछि शिक्षामन्त्री पोखरेल कार्यक्रमबाट बाहिरिए

काठमाडौं । सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले होहल्ला गरेपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका छन्।

गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा पार्टीको स्थानीय नेतृत्वसँग समन्वय नगरी एकलौटी ढंगले कार्यक्रम आयोजना गरिएको भन्दै सहभागी केही नेता–कार्यकर्ताले विरोध जनाएका थिए।

कार्यक्रममा बाहिरबाट आएका नेताहरूलाई प्राथमिकता दिइएको तर स्थानीय नेताहरूलाई आसन ग्रहणसमेत नगराइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए। विरोधका क्रममा मन्त्री पोखरेल बोल्न उठेपछि समेत होहल्ला भएपछि उनले कार्यक्रम बीचमै छाडेर बाहिरिएको बताइएको छ।

घटनापछि मन्त्री पोखरेलले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा निष्कर्ष निकाल्न नहुने बताएका छन्।

उनले दुई जना व्यक्तिले आएर होहल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको स्पष्ट पारेका छन्।

मन्त्री पोखरेलले घटनालाई लिएर भ्रम वा भ्रामक प्रचार गरिएको भए पनि त्यसले शिक्षा सुधारको उद्देश्यलाई प्रभावित पार्न नसक्ने बताएका छन्।

उनका अनुसार कार्यक्रमस्थलबाट बाहिरिएपछि पनि आफूहरू सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेका थिए। त्यहाँ विद्यार्थीहरूसँग संवाद गर्दै शिक्षा क्षेत्रको सुधारका विषयमा छलफल गरिएको उनले जानकारी दिएका छन्।

कार्यक्रममा भएको होहल्लाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्। यद्यपि, मन्त्री पोखरेलले भने सामाजिक सञ्जालमा प्रसारित छोटो भिडियोका आधारमा मात्रै घटनाको निष्कर्ष निकाल्न नहुने बताएका छन्।