Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरजु भन्छिन्, हो सिंगापुर जाने प्लान छ

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले आफू सिंगापुर गएको भनेर समाचार लेख्नेहरुले पीत पत्रकारिता गरेको बताएकी छन्। शुक्रबार नेपाल फ्याक्ट चेकसँग कुरा गर्दै उनले स्वास्थ्य जाँचका लागि आगामी जुन महिनामा सिंगापुर जाने योजना रहेको पनि खुलाएकी छन्। ‘सिंगापुर जाने मेरो योजना थियो तर अहिले होइन। पछि मेरो स्वास्थ्य जाँचका लागि जुन महिनामा जाने योजना छ’, उनले भनिन्, ‘मलाई पनि अचम्मै लाग्यो समाचार हेरेर, सुनेर। म अहिले नै सिंगापुर हिँडिसके भनेर समाचार बनाएछन्, लेखिदिएछन्।’ उनले बुधबार आफू बुद्ध एयरबाट बाराको सिमरा गएको पनि बताइन्। ‘म अस्ति बुद्ध एयरबाट सिमरा गएँ। त्यहाँबाट वीरगञ्जस्थित हाम्रो पार्टीका सांसद अजय चौरसियाको छोराको बिहेमा भाग लिएँ’, उनले भनिन्, ‘त्यसपछि हिजो हेटौँडामा सरकारकै अधिकृतहरु, बागमती प्रदेशका मन्त्री र सांसद तथा योजना आयोगसँग ‘उमेन इम्पावरमेन्ट’विषयमा छलफल गरेँ।’
उनी हेटौँडामा रहँदै गर्दा भारतको दिल्ली हुँदै सिंगापुरतिर पुगेको समाचार र हल्ला एकसाथ सामाजिक सञ्जालमा आएको थियो।
‘म त उडेकै दिन सिंगापुर गइछे भनेर लेखिदिएछन्’, उनले भनिन्, ‘म जहाजबाटै काठमाडौं फर्किनु थियो। तर हिजो जहाज रद्द भएर कान्ति राजपथ हुँदै आएँ।’ उनले आफ्नोबारेमा जे पनि लेखिदिएको भन्दै चित्त दुखाएकी छन्। ‘जे पनि लेखिदिन्छन्। मिडिया भन्ने कि एल्लो जर्नालिजम भन्ने कि रब्बिस भन्ने कि के भन्ने ? यो रब्बिस नै हो’, उनले अगाडि भनिन्। पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा उनले पनि बिचौलियाबाट २ करोड रकम लिएको दाबीसहितको अडिओ भाइरल भइरहेको छ। एक मिनेट ३ सेकेन्डको उक्त अडिओको करिब २० मिनेटको पूरा अंश अहिले प्रहरीले लिएर अनुसन्धान गरिरहेको छ। उनी र हाल प्रहरीको हिरासतमा रहेका कांग्रेस नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम यो प्रकरणमा जोडिएको छ।तर बालकृष्ण बुधबार पक्राउ परेयता मञ्जु गायब छिन्। आरजु भने आफूलाई राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय बनाइरहेकी छन्। सिंगापुर हिँडेको अफवाहबीच उनले शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा केही फोटो हालेकी छन्। बिहीबार हेटौँडास्थित स्वदेशी मार्टको उद्घाटन गर्दाका फोटो उनले फेसबुकमा हालेकी थिइन्। ती फोटोमा उनी प्रसन्न मुद्रामा देखिएकी छन्।


सम्बन्धित समाचार