Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरोप प्रमाणित गर्न गृहमन्त्रीको चुनौती

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित षडयन्त्रमूलक ढङ्गबाट झुटा प्रचारबाजी भएको स्पष्टीकरण दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको थियो । उजुरीबारे गृहमन्त्रालयले समेत गृहमन्त्रीको कुनै संलग्नता नरहेको विज्ञप्ति निकालेको छ । स्पष्टीकरण दिँदै गृहमन्त्री लेखकले आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने गृहमन्त्रीको पदबाट मात्र होइन राजनीतिबाटै राजीनामा दिने बताएका छन् । शुक्रबार अभियन्ता युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिजिट भिसामा सेटिङ भएको उजुरी दर्ता गराएका थिए । उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी लाखौं रुपैयाँ असुलेको उल्लेख गरिएको छ । उक्त कार्यमा गृहमन्त्री लेखकदेखि लिएर अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।
गृहमन्त्री लेखकले सञ्चार माध्यमसँग कुराकानी गर्दै स्पष्टीकरण दिएका छन् । मेराविरुद्धमा नियोजित र षडयन्त्रमूलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहान्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको भिजिट भिसामात्रै होइन । मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटामात्रै पनि आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट मात्र होइन राजनीतिबाट राजीनामा दिन्छु । म यो आग्रह गर्न चाहान्छु ।