Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इनमको बयानपछि कांग्रेसमा आरोप–प्रत्यारोप

काठमाडौं । प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाको बयान सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र तरंग पैदा भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता दिलाउन १८ करोड रुपैयाँको लेनदेन भएको सापकोटाले बयान दिएको भन्दै समाचार सार्वजनिक भएपछि कांग्रेसका विभिन्न नेताहरूले त्यसको प्रतिवाद गरेका छन् भने अर्को पक्षले निष्पक्ष छानबिनको माग गरेको छ।

आइतबार सापकोटाको बयानका आधारमा कांग्रेसको आधिकारिकता विवाद प्रभावित पार्न १८ करोड रुपैयाँको डिल भएको दाबीसहित समाचार सार्वजनिक भएको थियो। त्यसपछि सोमबार सभापति गगन थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारलाई निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित भएको बताएको छ।

थापाको सचिवालयले सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरेको छ।

विज्ञप्तिमा बिचौलियासँग सम्बन्धित विषय तथा त्यससँग जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने कांग्रेसको धारणा दोहोर्‍याइएको छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने र त्यसका लागि सरकारलाई पार्टीको पूर्ण साथ तथा समर्थन रहने पनि सचिवालयले जनाएको छ।

तर अनुसन्धानसँग सम्बन्धित नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेको भन्दै सचिवालयले अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएको छ। अनुसन्धान चयनात्मक ढङ्गले अघि बढेको हो कि भन्ने आशंका व्यक्त गर्दै अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकासमेत सार्वजनिक भइरहेकाले समग्र प्रक्रिया पारदर्शी र निष्पक्ष हुनेमा शंका रहेको जनाएको छ।

कांग्रेस कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने सचिवालयको भनाइ छ। अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, सोमबार साँझ सभापति थापाले आफूलाई तर्साउने प्रयास भइरहेको संकेत गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। सरकार पक्षले आफूलाई दबाबमा पार्न कांग्रेसको आधिकारिकतासम्बन्धी विषय सतहमा ल्याएको आशय व्यक्त गर्दै उनले तर्साउने प्रयासबाट आफू नडराउने बताएका छन्।

‘तर्साउने धेरै आए, तर तर्सिने बानी परेको छैन’ भन्ने आशयको उनको टिप्पणीलाई पछिल्लो घटनाक्रमसँग जोडेर हेरिएको छ।

कांग्रेस उपसभापति चन्द्र भण्डारीले पनि कुनै विषय न्याय, सत्य र जवाफदेहिताका लागि उठ्नुपर्ने भन्दै प्रतिशोध वा पूर्वाग्रहका आधारमा प्रश्न गर्न नहुने बताएका छन्। उनले विधिको शासन र निष्पक्षताको पक्षमा आफूहरू रहेको उल्लेख गर्दै बिचौलियाहरू पनि राज्यकै नियमन र नियन्त्रणभित्र हुनुपर्ने बताएका छन्।

‘छानबिन गर। प्रश्न आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि होइन—न्याय, सत्य र जवाफदेहिताका लागि हो। हामी विधिको शासन र निष्पक्षताको पक्षमा छौँ। बिचौलिया पनि राज्यकै नियमन र नियन्त्रणभित्र छन्। दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊ, विषयान्तर होइन,’ उनले भनेका छन्।

कांग्रेस नेता देवराज चालिसेले भने पार्टीको वैधानिकता र आन्तरिक निर्णय प्रक्रियामाथि प्रश्न उठाइएको भन्दै आपत्ति जनाएका छन्। कांग्रेसका सबै सांगठनिक गतिविधि पार्टी विधानअनुसार सञ्चालन हुने उल्लेख गर्दै उनले पार्टीको वैधानिकता प्रमाणित गर्न सत्तापक्षको कुनै कृपापात्र आवश्यक नरहेको बताएका छन्।

लाखौँ सदस्यको अभिमत, सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार भएको उनको भनाइ छ।

‘कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै सिखण्डी, प्यादा वा कृपापात्रको आवश्यक पर्दैन। लाखौँ सदस्यको अभिमत, तिनको सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो,’ उनले भनेका छन्।

सरकारलाई आफ्ना कमजोरी सम्हाल्न सुझाव दिँदै चालिसेले कांग्रेसको आन्तरिक मामिलामा अनावश्यक चासो नदेखाउन चेतावनीसमेत दिएका छन्।

कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि सापकोटाको भनिएको बयानलाई सरकारी प्रोपोगण्डाको संज्ञा दिएका छन्। इनमको बयान भन्दै सार्वजनिक भएको अडियो सुनेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले सभापति थापालाई रक्षात्मक बनाउन अडियोमा छेडखानी गरिएको दाबी गरेका छन्।

‘सरकारले आफ्नो एसेट कसलाई कतिखेर कहाँ प्रयोग गर्छ, उसको कुरा हो। तर नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापालाई रक्षात्मक बनाउन बाहिर ल्याइएको कन्टेन्ट पूरा छेडखानी गरिएको रहेछ। आफूलाई यो कुरा चाहियो भनेपछि रेकर्ड गर्न लगाएर बाहिर ल्याइएको अडियो पुरै सुन्दा पनि स्पष्ट हुन्छ,’ उनले भनेका छन्।

देश चाडपर्व मनाउन व्यस्त रहेका बेला सरकारी प्रोपोगण्डा टोलीले सापकोटाको बयान भन्दै विपक्षी आवाज थुन्ने प्रयास गरेको शिवाकोटीको आरोप छ। हिरासतमा रहेका व्यक्तिको बयानको अडियो टुक्राटुक्रा जोडेर सार्वजनिक गरिएको दाबी गर्दै उनले त्यसको गुणस्तर र प्रस्तुतिको शैलीले नै छेडखानी भएको संकेत गर्ने बताएका छन्।

उनले प्रहरी हिरासतमा रेकर्ड गरिएको बयानलाई अदालतले प्रमाणका रूपमा स्वीकार नगर्ने दाबीसमेत गरेका छन्। सरकारले आफूमाथि प्रश्न गर्नेहरूलाई तह लगाउन छनोटपूर्ण रूपमा सामग्री सार्वजनिक गरेको उनको आरोप छ।

यता, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने आधिकारिकता विवादमा बिचौलियासँग लेनदेन भएको भनिएको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै नेता प्रकाशशरण महतले सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विषय गम्भीर भएकाले निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन्।

विशेष महाधिवेशन विधि र प्रक्रिया मिचेर गरिएको दाबी गर्दै महतले अहिले त्यससँग सम्बन्धित नयाँ–नयाँ विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको बताए। सरकारले यस विषयमा ठीक ढङ्गले छानबिन गर्नेमा आशंका व्यक्त गर्दै अधिकारको दुरुपयोग भएको ठाउँबाटै अनुसन्धानको गहिराइमा पुग्नुपर्ने उनको भनाइ छ।

‘प्रहरी सोधपुछको क्रममा जे कुराहरू भन्यो भनेर बाहिर कुरा आइरहेको छ। यो त गम्भीर विषय हो। त्यसैले गम्भीर छानबिन हुनुपर्छ। यो छानबिनको गहिराइमा पुगेर निर्णय लिनुपर्छ,’ महतले भने।

सरकारले निष्पक्ष छानबिन गर्छ कि गर्दैन भन्नेमा आफूहरूलाई आशंका रहेको उल्लेख गर्दै उनले संवैधानिक निकायहरूले समेत यस विषयमा हस्तक्षेप गर्नुपर्ने बताए। ‘अधिकारको दुरुपयोग जहाँबाट भएको छ, त्यहाँबाटै गहिराइमा गएर हेर्न जरुरी छ,’ उनले भने।

सापकोटाको भनिएको बयान सार्वजनिक भएपछि कांग्रेसभित्र दुई फरक धारका प्रतिक्रिया देखिएका छन्। थापा नेतृत्वको पक्षले समाचारलाई राजनीतिक भ्रम र अनुसन्धानको चयनात्मक प्रचारका रूपमा व्याख्या गर्दै प्रतिवाद गरेको छ भने देउवा पक्षले आधिकारिकता विवादमा भएको भनिएको लेनदेनको निष्पक्ष छानबिन आवश्यक रहेको बताएको छ। आरोपको सत्यता र त्यससँग जोडिएका व्यक्तिहरूको भूमिकाबारे भने अनुसन्धानबाटै पुष्टि हुन बाँकी छ।


सम्बन्धित समाचार

डा. शेखरको तटस्थता कति दिन ?

२०८३ कार्तिक १९

ताजा नेपाल

ओलीलाई बोकेर जुट्दैन जनसमर्थन

२०८३ कार्तिक १९

ताजा नेपाल

सरकारको प्राथमिकता कहाँ छ

२०८३ कार्तिक १९

ताजा नेपाल