Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । इरानको राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले संयुक्त राज्य अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन्। दुई देशबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध र सैन्य तनाव जारी रहेका बेला लस एन्जलसमा हुने पहिलो खेलभन्दा करिब १० दिनअघि उनीहरूले भिसा पाएका हुन्।
मेक्सिकोका लागि इरानी राजदूत अबोलफजल पसन्दिदेहले बिहीबार रातिसम्म टोलीले भिसा नपाएको बताएका थिए। तर ह्वाइट हाउसका एक अधिकारीका अनुसार त्यसपछि रातारात खेलाडीहरूको भिसा स्वीकृत गरिएको हो।
टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले सामाजिक सञ्जाल एक्समार्फत भिसा जारी भएको पुष्टि गर्दै इरानी टोलीको भिसा प्रक्रिया पूरा गर्न सहयोग गर्ने अंकारास्थित अमेरिकी दूतावासको टोलीलाई धन्यवाद दिएका छन्।
बीबीसीका अनुसार वासिङ्टनबाट पनि इरानी राष्ट्रिय टोलीले भिसा प्राप्त गरेको पुष्टि भइसकेको छ। यद्यपि टोलीका केही प्राविधिक तथा प्रशासनिक सदस्यहरूले भने अझै भिसा नपाएको बताइएको छ।
इरानको फुटबल महासंघले यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
आगामी २०२६ फिफा विश्वकप भूराजनीतिक तनावका कारण खेलकुदभन्दा बाहिरको चर्चाको केन्द्र पनि बनेको छ। विश्लेषकहरूका अनुसार सन् १९३० पछि पहिलो पटक आयोजक राष्ट्रले आफूहरूसँग प्रत्यक्ष तनाव वा द्वन्द्व रहेको देशलाई विश्वकपका लागि स्वागत गर्न लागेको हो।
भिसा समस्या कारण इरानले आफ्नो प्रशिक्षण आधार अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारिसकेको थियो। देशभित्र पनि टोलीको अमेरिका बसाइ सकेसम्म छोटो राख्नुपर्ने धारणा बलियो बनेको थियो।
इरानले समूह चरणअन्तर्गत जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग खेल्नेछ। त्यसपछि सोही शहरमा बेल्जियम र सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
इरानी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अमिर घालेनोईले आगामी विश्वकपमा टोलीको नेतृत्व गर्नेछन्।
राजदूत पसन्दिदेहका अनुसार अमेरिकाले औपचारिक रूपमा इरानी टोलीलाई प्रवेश नदिने कुनै घोषणा गरेको छैन। तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिनिधिमण्डलमा सहभागी हुन नदिने संकेत गरेका थिए।
इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई विगतमा वासिङ्टनमा भएको विश्वकप ड्र कार्यक्रममा प्रवेश अनुमति नदिइएको घटना पनि उल्लेख गरिएको छ।
राजदूत पसन्दिदेहले विश्वकपमा इरानको सहभागितालाई अमेरिका–इरान तनाव समाधानतर्फको “शान्तिको संकेत”का रूपमा व्याख्या गरेका छन्।
हालैका महिनामा इरान र संयुक्त राज्य अमेरिका बीच कूटनीतिक वार्ता सुस्त गतिमा अघि बढे पनि सैन्य तनाव भने कायम रहेको बताइएको छ।
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल