Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध अन्त्यका लागि जारी वार्तामा ढिलाइ नगर्न र ‘समय घर्कँदै गएको’ बताएका छन्। वार्तामा अपेक्षित प्रगति हुन नसकेपछि ट्रम्पको यस्तो आक्रोशपूर्ण अभिव्यक्ति आएको हो। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, “इरान छिटो अघि बढेको राम्रो हुनेछ, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन। समय निकै महत्त्वपूर्ण छ” ट्रम्पले यो सन्देश आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनवार्ता गर्नुअघि सार्वजनिक गरेका हुन्। यता, इरानको अर्ध(सरकारी सञ्चारमाध्यम मेहर न्युज एजेन्सीका अनुसार, द्वन्द्व अन्त्यका लागि तेहरानले राखेको पछिल्लो प्रस्तावमा वासिङ्टनले कुनै ठोस लचकता देखाएको छैन। अमेरिकाले सम्झौताका लागि तयार नभए वार्ता ‘अन्तरहीन गतिरोध’ मा फस्ने इरानी सञ्चारमाध्यमको दाबी छ। यसअघि गत अप्रिलको सुरुमा युद्धविराम घोषणा हुनुभन्दा ठीक अगाडि ट्रम्पले इरान सम्झौतामा नआए “सिंगो सभ्यता” समाप्त हुने धम्की दिएका थिए। यसै साताको सुरुमा इरानका मागलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै ट्रम्पले वर्तमान युद्धविराम ‘भन्टिलेटर’ मा रहेको टिप्पणी गरेका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने आफ्ना प्रस्तावहरू ‘जिम्मेवार र उदार’ रहेको दाबी गरेका छन्। इरानको तस्निम न्युज एजेन्सीका अनुसार इरानका सर्तमा सबै मोर्चामा तत्काल युद्धको अन्त्य, इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य, र पुनः आक्रमण नगर्ने ग्यारेन्टी रहेका छन्। यसका साथै युद्धको क्षतिपूर्ति र हर्मुजमा इरानी सार्वभौमिकताको सम्मान हुनुपर्ने माग इरानको छ। जवाफमा वासिङ्टनले इरानसामु पाँचवटा कडा सर्त राखेको छ। जसमा इरानले केवल एउटा मात्र आणविक केन्द्र सञ्चालन गर्न पाउने र आफ्नो युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त मुख्य छन्। गत फेब्रुअरी २८ देखि इजरायली र अमेरिकी सेनाले इरानमाथि भीषण हवाई आक्रमण सुरु गरेका थिए। वार्तालाई सहज बनाउन गरिएको युद्धविरामका क्रममा छिटपुट गोलाबारी भए पनि यो मुख्य रूपमा लागू नै रहेको छ।


सम्बन्धित समाचार