Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानसँग युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौता भएको ट्रम्पको दाबी

जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको बताएका छन्। फ्रान्समा भइरहेको जी–सेभेन शिखर सम्मेलनका क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटमा ट्रम्पले सम्झौताको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिएका हुन्।

ट्रम्पले सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको भन्दै यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार आगामी शुक्रबार जेनेभामा उक्त सम्झौतामा औपचारिक हस्ताक्षर गरिनेछ। साथै, सोही दिनदेखि विश्व व्यापारका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याइने योजना रहेको बताइएको छ।

सम्झौतापछि इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक वार्ता पनि सुरु हुने जनाइएको छ। अमेरिकी पक्षका अनुसार इरानले सम्झौताअन्तर्गतका प्रतिबद्धता पूरा गरेपछि मात्र उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइने तथा रोक्का गरिएका सम्पत्तिहरू फुकुवा गरिनेछ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक टेलिभिजन अन्तर्वार्तामा अमेरिका र इरानबीच भएको समझदारीपत्र करिब डेढ पृष्ठको प्रारम्भिक दस्तावेज रहेको बताएका छन्। उनका अनुसार सम्झौतामा इरानले क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्ध रहने तथा विभिन्न आतङ्कवादी समूहलाई आर्थिक सहयोग नगर्ने उल्लेख गरिएको छ।

भान्सले इरानले आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाएको विषय सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताए। अन्य प्राविधिक तथा विस्तृत विषयहरू आगामी चरणका वार्तामार्फत टुङ्ग्याइने उनको भनाइ छ।

प्रारम्भिक सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स तथा इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले विद्युतीय माध्यमबाट हस्ताक्षर गरिसकेको बताइएको छ।

सम्झौताअनुसार हाल कायम युद्धविरामलाई थप ६० दिनका लागि विस्तार गरिनेछ। उक्त अवधिमा दुवै पक्षले अन्तिम सम्झौताका विस्तृत प्रावधानहरूमा सहमति जुटाउने प्रयास गर्नेछन्।

यस कूटनीतिक पहलको जानकारी पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सार्वजनिक गरेका थिए। उनका अनुसार प्रस्तावित सहमतिअन्तर्गत लेबनानसहित विभिन्न मोर्चामा भइरहेका सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने विषय पनि समावेश गरिएको छ।