Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इलामबाट निःशुल्क उपचार सेवा सुरू गर्दै गोविन्द केसी

इलाम । डा गोविन्द केसीले सोमबारदेखि इलामबाट जनतालाई निःशुल्क सेवा दिन सुरू गरेका छन्। इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरू गरेका हुन्। सोमबारदेखि २० दिनसम्म सेवा दिने उनले बताएका छन्। डाक्टर केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरू गरेको बताए। सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ। सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका डाक्टर केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन्। त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन्।
डाक्टर केसीले उपचार दिन थालेपछि इलाममा हाडजोर्नीको उपचार गराउन आउने बिरामी बढेका छन्। गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन्। डाक्टर केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन्। उनले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिने जनाइएको छ। इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए। आवश्यक सहयोगसहित सुरक्षा गार्डकोसमेत व्यवस्था गरिएको उनले बताए।