Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उत्सुकताले नै दर्शकलाई बाँधेर राख्छ

  • रेश्मा केसी, प्रोडक्सन डिजाइनर

नेपालमा प्रोडक्सन डिजाइनरका रूपमा ख्याति कमाउनु भएको छ रेश्मा केसी । उहाँले यो क्षेत्रमा आफ्नो नामलाई अग्लाउनु भएको छ । उहाँका कार्यले तारिफ बटुलिरहँदा विभिन्न मान सम्मान र अवार्ड उहाँले चुम्न सफल हुनुभएको छ । नेपालको मंहगो डिजाइनरका रुपमा परिचित क्वालिटीको काम गर्दा केही एक्सपेन्सिभ हुने बताउनुहुन्छ । राम्रो ठाउँमा राम्रो आउटपुट निकाल्न निर्देशक, छायाँकार र आर्ट डिरेक्टरले राम्रो तयारी गर्नु उहाँको मान्यता रहेको छ । ‘कुनैपनि प्रस्तुतिलाई राम्रो बनाउनका लागि प्रोडक्सन डिजाइनरको महत्वपूर्ण भूमिका रहेको बताउनुहुने उहाँ निर्देशक तथा त्यसको स्क्रिप्टले मागेका सम्पूर्ण सामग्री छायाँकनस्थलमा जुटाइदिनेदेखि कलाकार तथा प्राविधिकहरूलाई समयमै छायाँकनस्थलसम्म पुग्ने तथा फर्काउने व्यवस्था गर्ने त्यस्तै छायाँकनस्थलमा हरेक दृश्यका लागि चाहिने आवश्यक सामग्री जुटाउनेदेखि सम्पूर्ण युनिटको खाने, बस्ने, सुत्ने व्यवस्था मिलाउने जिम्मेवारी पनि प्रोडक्सनकै हुने बताउनुहुन्छ । प्रोडक्सन डिजाइनर युद्धमा होमिएको सिपाहीजस्तो भएको बताउनुहुने रेश्मासँग ताजा खबरले गरेको कुराकानीको संक्षिप्त अशं

हामी लामो समयदेखि कोराना संक्रमणबाट अब केही खुकुलो अवस्थामा आएका छौ, यतिवेला के गर्दै हुनुहुन्छ ?
हो, तपाईंले भने जस्तै कोरोना संक्रमणले सबैतिर प्रभावित बनायो । कला क्षेत्र अझ झन नराम्ररी प्रभावित भयो । यसबीचमा केही कामहरू त भए तर कोरोनाले हामीलाई निक्कै गाज्यो । अझै पनि यसको कहर त छदै छ तरपनि केही सहज भएको छ । के गर्दै हुनुहुन्छ यतिवेला भन्ने तपाईंको जिज्ञासामा म कलासँग सम्बन्धित व्यक्ति भएको हुनाले त्यसैका कार्यमा आफूलाई संलग्न गराउँदै आएकी छु । केही सामाजिक कार्यमा व्यस्त छु ।

तपाईं प्रोडक्सन डिजाइनरका रुपमा यस क्षेत्रमा ख्याति कमाउनु भएको छ, यो प्रोडक्सन डिजाइनर भनेको के हो ? यस क्षेत्रमा कत्तिको चुनौती छ ?
प्रोडक्सन डिजाइनरका रुपमा ख्याति कमाउनु भन्दा पनि सबैले मन पराउनु भएको छ । खुशी लाग्छ । कुनैपनि प्रस्तुतिलाई राम्रो बनाउनका लागि प्रोडक्सन डिजाइनरको महत्वपूर्ण भूमिका रहेको हुन्छ । निर्देशक तथा त्यसको स्क्रिप्टले मागेका सम्पूर्ण सामग्री छायाँकनस्थलमा जुटाइदिनेदेखि कलाकार तथा प्राविधिकहरूलाई समयमै छायाँकनस्थलसम्म पुग्ने तथा फर्काउने व्यवस्था गर्ने त्यस्तै छायाँकनस्थलमा हरेक दृश्यका लागि चाहिने आवश्यक सामग्री जुटाउनेदेखि सम्पूर्ण युनिटको खाने, बस्ने, सुत्ने व्यवस्था मिलाउने जिम्मेवारी पनि प्रोडक्सनकै हुन्छ । प्रोडक्सन डिजाइनर युद्धमा होमिएको सिपाहीजस्तो भएको पाउँछु म ।
मलाई के लाग्छ भने हरेक काममा चुनौती हुने गर्छ । त्यसलाई तपाईंले कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरा हो । हरेक कुराको व्यवस्थापन महत्वपूर्ण पाटो हो । अब कला क्षेत्रको कुरा गर्नुहुन्छ भने हाम्रो बजार सानो छ । हामीले बनाउने प्रस्तुतिको बजेट पनि चाहेजस्तो हुन सक्दैन, जसले धेरै कुरामा कम्प्रमाइज गर्नुपर्ने हुन्छ ।

तपाईं कतिको सन्तुस्ट हुनुहुन्छ आफ्ना कार्यप्रति ?
मलाई एक दमै खुशी छ किनभने मैले चाहेको कुरा गर्न पाएको छु । खुशी मिल्न सक्ने काम गर्दा आनन्द हुँदो रहेछ । यो क्षेत्रले मलाई नाम र दाम दुबै दिएको छ । मैले आफ्नो क्रियशन पस्किन पाएकी छु । खुशी छु । तरपनि जहिले लाग्ने कुरा के हो भने अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने हो ।

यतिधेरै काममा एकदम ब्यस्त हुनुहुन्छ ?
ब्यस्त अर्थात विजि नभनौ एउटा जिम्मेवारी र चुनौतीको काम छ । सबैले माया दिनुहुन्छ, गरिरहनुभएको छ । व्यस्त हुँदा आफ्नो काममा ब्यस्त हुनुको मज्जा अर्कै छ । त्यसबाहेक अन्य समाजिक काम छदैछ । यो क्षेत्रमा यो अवधिमा यो क्षेत्रका सबैले मलाई आरामगर्ने मौका दिनुभएको छैन यसमा म आफूलाई भाग्यमानी ठान्दछु । मलाई लाग्छ यसले आगामी दिन मेरा अझै चुनौतीपूर्ण र जिम्मेवार हुनेछन् । मलाई यो क्षेत्रमा एउटा पहिचान दिलाउन धेरै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरू सबै प्रति आभार व्यक्त गर्दछु ।

नेपालमा कस्ता चलचित्रका दर्शक धेरै छन् जस्तो लाग्छ ?
सामाजिक चलचित्रका दर्शक धेरै छन् । आफ्नोपन, आफू सुहाउँदो सामाजिक कथाबस्तुमा आधारित चलचित्र दिन सक्नुपर्छ । यथार्थ बोकेको चलचित्रलाई दर्शकले धेरै मन पराउँछन ।

तपाईं आफूलाई समाजसेवा तर्फ पनि त्यतिकै अग्रसर गराउनु भएको छ नि ?
मानिस सामाजिक प्राणी भएकाले समाजप्रति उसको दायित्व हुनुपर्छ । मैलेपनि त्यही आफ्नो दायित्व निर्वाह गरेकी हुँ ।

तपाई आफैँलाई मन परेको आफ्नो काम ?
मेरो कामलाई धेरैले मन पराएको पाउँछु म । हरेक पल्ट केही नयाँ गर्ने कोशिसमा हुन्छु । पहिलाको प्रोजेक्ट भन्दा केही नयाँ क्रिएशन गरौ भन्ने नै हुन्छ हरेक पल्ट । अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । आफ्ना सबै कामलाई मैले उतिकै सम्मान र समर्पणसाथ गर्ने गरेकी छु । कुनै एकको नाम लिनुभन्दा सबै उतिकै प्रिय छन् ।

सफल हुनका लागि के कस्ता कुराहरू आवश्यक देख्नुहुन्छ ?
मुख्य कुरा त विषयवस्तु बलियो हुनुपर्छ । कसरी प्रस्तुतीकरण गर्ने हो भन्ने हुनुपर्छ । कलकारलाई कसरी देखाउने भन्ने हुनुपर्छ । सानो कुरालाई पनि प्रस्तुति कसरी गर्ने भन्ने हुनुपर्छ । कथा वस्तु छनोटदेखि लिएर कलाकार र प्राविधिक सबै दक्ष्य हुनुपर्छ । रहरले होइन म यो क्षेत्रमा केही गर्छु भन्ने हो भने सफल हुन्छ । फेरि चलचित्र भनेको टिम वर्क हो । सम्पूर्ण कुराहरू मिल्नु जरुरी हुन्छ ।

नेपाली चलचित्रको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
हामी जहिले पनि आशावादी हुनुपर्छ । चलचित्र क्षेत्रलाई राम्रो बनाउनका लागि यसमा संलग्नहरूले विशेष ध्यान दिनुपर्छ । नेपाल सरकारले यो क्षेत्रको विकासका लागि पनि सरोकार र चासो ब्यक्त गर्न सक्नुपर्छ । हामी जता जता बाडिए पनि समग्र चलचित्रक्षेत्रको विकासका लागि एउटै आवाज हुनु जरुरी छ । नेपाली चलचित्र क्षेत्रको भोलिका दिनहरू राम्रा नै देख्छु म त । नयाँ नयाँ व्यक्तत्वहरूको आगमन भइरहेको छ । अबको सिनेमालाई अझ थप माथि पु¥याउनका लागि सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गरिदिए पुग्छ ।

चलचित्र यो धारको, त्यो धारको भन्निछ । वास्तवमा चलचित्रको धार हुन्छ कि हुँदैन ?
कुनै पनि चलचित्र यो धार, त्यो धार भन्ने हुन्छ जस्तो लाग्दैन मलाई । चलचित्रको धार हुँदैन । चलचित्र चल्नलाई धारभन्दा पनि स्टोरी चाहिन्छ । चलचित्रमा एउटा सिनपछि अर्को सिन के होला भन्ने उत्सुकता चाहिन्छ । उत्सुकताले नै दर्शकलाई चलचित्र हेरुञ्जेल बाँधेर राख्ने हो ।


सम्बन्धित समाचार