Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एआईजी बन्न दौडादौड

काठमाडौँ । नेपाल प्रहरीको तीन एआईजी पदका लागि चलेको शक्ति सङ्घर्ष अब उत्कर्षमा पुगेको छ । सरकारकै लापरवाहीका कारण डीआईजीबाट एआईजी नबन्दै आईजीपी बन्नुपर्ने बाध्यता तीन पटक नेपाल प्रहरीले भोगिसक्यो । अहिले सरकारबाट पाँच जना डीआईजीबाट छनोट गरी तीन एआईजी बनाउनुपर्ने छ । यहाँ प्रम ओली र उनको मण्डलीको हात हुनेछ । गृहमन्त्री माइनस हुने छन्, सचिव महेश्वर न्यौपानेले जासुसको काम गर्ने छन् । ठाकुर ज्ञवाली वरिष्ठताका आधारमा एआईजी नहुँदै आईजीपी भए । उनको व्याजका तारणी लम्साल, सूर्य उपाध्याय असारमा अवकाश हुने छन् । अबको एआईजी असारमा आईजीपी बन्ने भएकाले कामको आधारमा बढुवा हुनुपर्ने अभियान चलाइएको छ । राजनीतिक पहुँच र दौडधूप नगर्न गृहसचिव महेश्वर न्यौपानेले गृह मन्त्रालयमा डुक्रिएको साता बितेको छैन । प्रधानमन्त्री केपी ओलीले हरिबहादुर पाललाई जोड दिने छन् । शैलेश थापा, निरज शाही, तारणी लम्साल, सूर्य उपाध्याय, प्रद्युम्न कार्की, विश्व पोखरेलबीचको प्रतिस्पर्धा चर्को छ । पाल पैसा खर्च गर्ने, शैलेशलाई महेश बस्नेत र गृहसचिवले बोक्ने, विश्वलाई उपप्रम ईश्वर पोखरेलदेखि काँग्रेसका नेताहरूले साथ दिने भएकाले कतै तारणी, सूर्य, निरज, प्रद्युम्नपछि पर्ने स्थिति नआउला भन्न सकिँदैन । नेपाल प्रहरीमा काँग्रेस र एमाले दुवैको कित्ता छ ।
माओवादलाई नगन्ने, हेप्ने प्रवृत्ति प्रहरीमा अझै छ । तर माओवादी नेता गृहमन्त्री बन्दा कानुनको पालना क्षमता, अनुभव, कार्यकुशलताका आधारमा आईजीपी, एआईजी, डीआईजी जस्ता पदमा बढुवा गर्ने परम्परा बसालेको थियो । यो परम्पराले धेरैको पैसा जोगियो तर माओवादीप्रति कुनै प्रहरी अधिकृत ऋणी बन्दैन । अहिले गृहमन्त्री रामबहादुर थापा छन् । उनको आदेश सर्वेन्द्रले समेत टेरेनन् । बरु प्रमका सल्लाहकार विष्णु रिमालको आदेश टेरेका थिए । गृहमन्त्रीको काममा प्रधानमन्त्री केपी ओलीले हस्तक्षेप गरिरहेका छन् । एमाले मन्त्रीको मन्त्रालयमा माओवादीलाई ढिम्कन दिइँदैन । तर एमालेले माओवादीलाई गन्दैन । पार्टी एकता भएको छ । एकीकृत पार्टीको सङ्केत कतै छैन । कार्यकर्तामा उत्साह छैन । पार्टी एकताको यो अवधिमा प्रशासनिक निष्पक्षता कतै छैन । प्रहरीमा ब्रिफकेस बुझाएर आईजीपी हुने, तस्करी खुलाउने र लगानी बढाउने चलन छ । अहिले ब्रिफकेस बुझाउने क्षमताका थामसेर्कूको यती होल्डिङ्समा लगानी गरेका डीआईजी हरि पाल हुन् । उनलाई प्रम ओलीले च्याप्नुको कारण यती समूहसँगको सम्बन्ध हो । भ्रष्ट र लुटाहाले नै पैसा खर्च गर्छ । तस्करसँगको सम्बन्ध त्यस्तैको हुन्छ । वर्तमान सरकारले निष्पक्षता कति गर्छ, त्यसको प्रारूप अब देखिन्छ । अहिले तीन एआईजी र १८ डीआईजी बढुवाको रन्को छ । सेवा हदका कारण अवकाश पाउनेमा आईजीपी सर्वेन्द्र खनाल, एआईजीहरू पुष्कर कार्की, धीरु बस्नेत, ठूले राई मात्र होइनन्, १८ जना डीआईजीसमेत थिए । सरकारलाई तीन एआईजी र १८ जना डीआईजीको छनोट गर्नुपर्ने दायित्व थपिएको छ । आईजीपी पदमा पुगेपछि थरिथरिका आकर्षक गीत गाउनेहरूको भीडमा यस पटक ठाकुर ज्ञवाली खडा छन् । चार महिना २४ दिनको आईजीपीको काम कस्तो होला ? आमप्रहरीको फोर्समा ज्ञवालीको नियुक्तिभन्दा भावी आईजीपीको निम्ति हुने एआईजीको बढुवाप्रति धेरैको ध्यान गएको छ । सचिव पनि भक्तपुरे, डीआईजी शैलेश पनि भक्तपुरे भएकाले पहुँचको छनक यहाँ देखियो । प्रम ओलीले हरि पाल, सचिव र महेशले शैलेश थापा बोक्ने निश्चित छ । यस्तो अवस्थामा वर्तमान सरकारका भष्मासुर उपप्रम ईश्वरको कोटाका विश्व पोखरेल र प्रद्युम्न कार्की, निरज शाहीबीच झन् अस्वस्थ प्रतिस्पर्धा हुने पो हो कि शङ्का छ । किनकि हरि पाल र शैलेश एआईजी हुनेमा ढुक्क छन् ।


सम्बन्धित समाचार

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल