Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एउटा सन्काहाले बल्ल हार स्वीकारे

एजेन्सी । जतिसुकै राजनीतिक संस्कार बसेको भनिए पनि सत्ता र कुर्सीको मोह कस्तो हुन्छ भन्ने उदाहरण हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । इतिहासमै निर्लज्जित पात्र ट्रम्पले चुनावमा आफ्नो पराजय स्वीकारेका छन् । अमेरिकी संसदमा बुधबार भएको हमलापछि ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएका बेला उनले चुनावमा आफ्नो पराजय स्वीकारेका हुन् । अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले आज ट्वीटरमा एउटा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’
ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको पनि बताएका छन् । हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।
‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन्,’ ट्रम्पले भने । आफ्नो चुनावी क्याम्पेनले सधैँ अमेरिकी प्रजातन्त्रका लागि लडेको र मतदाताको वैधताका बारेमा प्रश्न उठाएको पनि उनले स्मरण गराएका छन् ।
अबको समय पीडामा ‘मलम लगाउने र मेलमिलाप’ को भएको पनि उनले बताएका छन् । सन् २०२० महामारीले गर्दा हजारौंको ज्यान गएको र निकै दुस्खदायी भएको बताउँदै अब सबै मिलेर यसले विभिन्न क्षेत्रमा पुऱ्याएको क्षतिलाई पुनस् उकास्ने समय आएको पनि उनले बताए ।
ट्रम्पले भिडियो सन्देश जारी गर्नअघि दुवै सदनका विपक्षीहरूले उनलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका थिए। सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी थिइन् ।
डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका थिए । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ । अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक बुधबार हमला भएको थियो । सन् १८१२ को युद्धपछिको पहिलो भएको यो हमलामा चार जनाको मृत्यु भएको थियो भने ६८ जना पक्राउ परेका छन् ।