Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक्लिएका बाबुरामले बोलाए आकस्मिक बैठक

काठमाडौं। अन्ततः बाबुराम भट्टराई एक्लिन पुगेका छन् । उनलाई बाइपास गर्दै नेपाल समाजवादी पार्टी माओवादी केन्द्रमा समाहित हुनेपछि अध्यक्ष भट्टराईले आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैछ। महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन्। जसअनुसार आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ। महेन्द्रराय यादव पक्षधर नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए। मुलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ। शनिवार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितितमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए। यादवसहित भट्टराइलाई लामो समयदेखि साथ दिँदै आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन्। चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका हुन्। माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो। सो पार्टी एकताका लागि बैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। जसअनुसार कार्यदलमा माओवादीका तर्फवाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपावाट सह अध्यक्ष श्रेष्ठ र महासचिव यादव सदस्य रहेको जनाइएको छ। अध्यक्ष भट्टराइले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुबैजनालाई कारबाही गर्ने बुझिएको छ। पार्टी अध्यक्षलार्इ नै बाइपास गरेर एकता गर्ने सहमति गरे पछि भट्टराई क्रुद्ध रहेका छन्।