Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक हजार रुपैयाँ चलाएको निहुँमा यमबहादुरले लिए श्रीमतीको ज्यान

काठमाडौं । आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन ।  श्रीमानसँग नसोधी एक हजार रुपैयाँ खर्च गरेको निहुँमा रुपन्देहीमा एक महिलाको हत्या भएको छ। कञ्चन गाउँपालिका १ की ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान यमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान करिब साढे नौ ९ बजे सावित्री थापा आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनको हत्या गरेको अनुमान गरेको थियो। मृतकको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू, कोठामा रगत बगेको, छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडामसमेत देखिएको थियो। मृतकको श्रीमान ३३ वर्षीय यम बहादुर थापालाई प्रहरीले तत्काल पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा यमबहादुरले हत्या गरेको स्वीकार गरेका थिए।
घटनाको अघिल्लो दिन साँझ यम बहादुर थापाले घर नजिकै रहेको पसलमा रक्सी खाएर फर्किएका थिए। तर उनलाई थाहा नै नदिई दराजबाट एक हजार रुपैयाँ लगेर श्रीमतीले पनि रक्सी खाएको थाहा पाएपछि उनले श्रीमतीको हत्या गरेको प्रहरीको भनाई छ। रातको करिब २ बजेको समयमा यम बहादुर उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाएर पैसा नसोधी किन लगेको भनि कुटपिट गरेका थिए। श्रीमतीको कपाल समाई खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिएको खुलेको छ। यम बहादुरलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए।