Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीको गोप्य पत्र सार्वजनिक गर्न माग

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् । नेता डा रावलले भने, “यो सत्ताका निम्ति खतरानाक सौदाबाजी हो । सार्वभौम संसद् र जनताको अपमान हो । विदेशीको नांगो चाकडी हो । प्रधानमन्त्रीले जलवायु सम्मेलनजस्तो महत्त्वपूर्ण मञ्चमा जाँदा एमसीसीका कार्यकारी अध्यक्षसँग लम्पसार परेका छन्, घुँडा टेकेका छन् । डा रावलले देउवा र प्रचण्डले छुट्टाछुट्टै हो कि संयुक्त रुपमा पत्र पठाएको भन्ने प्रश्न गर्दै यो राष्ट्रघाती र गैरजिम्मेवार पत्र भएको आरोप लगाए । उनले भने, प्रचण्ड हाम्रो मुलुकको जलस्रोत मन्त्री हुन् कि परराष्ट्र मन्त्री हुन् ! संयुक्त रुपमा पत्राचार गरेको हो भने यो राज्यको उपहास हो । यो ज्यादै लज्जाजनक छ । संवैधानिक, कूटनीतिक र राज्य सञ्चालनका मर्यादा विरोधी कुरा हो । के प्रचण्डको राजनीति एमसीसीको फल खाएर केही थान मन्त्री र प्रधानमन्त्री खाने मात्रै हो ! एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले एमसीसी पारित गर्न चाहेको हो भने त्यो जनतालाई मूर्ख बनाउने कुरा भएको बताए । उनले भने, माधव नेपालकै पार्टीका नेता झलनाथ खनाल नेकपाको विदेश विभाग प्रमुख हुँदा एमसीसी अध्ययन कार्यदल बनेको थियो । त्यसले एमसीसी यथास्थितिमा पारित गर्नुहुँदैन भन्ने प्रतिवेदन दिएको थियो । अब झलनाथजीले कसरी मान्नुहोला ! सत्ता गठबन्धनले राजनीतिक दल विभाजन र अदालतमा कचिंगल बढाउने धन्दा चलाउनु व्यक्तिगत स्वार्थ रहेको प्रमाणित भएको उनको आरोप छ । उनले भने, राष्ट्रघाती नेताहरुका कारण गण्डकी गयो, कोसी गयो, महाकाली गयो, माथिल्लो कर्णाली गयो । अब नेपाल उपनिवेशीकरणको बाटोमा छ । नेपाललाई अन्तर्राष्ट्रिय युद्धको रणमैदान बनाउने षड्यन्त्रको हतियार एमसीसी पारित गर्छु भन्नु कानुनको ‘क’ र राजनीतिको ‘र’ नजान्ने मानिसले भन्ने कुरा हो ।