Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको चुनावी पराजयको मुख्य कारण आन्तरिक एकताको अभाव र नेतृत्वसँगको कमजोर सम्बन्ध रहेको निष्कर्ष निकालेका छन्। उनले आगामी निर्वाचनमा सफलता हासिल गर्न पार्टीका नेता तथा कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध हुन आग्रह गरेका छन्।
काठमाडौंमा जारी एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै बादलले पार्टीको शक्ति नेतृत्वको वरिपरि गोलबन्द हुन सक्ने क्षमतामा निर्भर रहने बताएका हुन्। उनका अनुसार पार्टी नेतृत्वसँग एकताबद्ध हुँदा राजनीतिक शक्ति बलियो हुने र नेतृत्वविरुद्ध उभिँदा पार्टीले पराजय बेहोर्नुपर्ने अवस्था आउँछ।
‘जब हामीले नेतृत्वको वरिपरि गोलबन्द भएका छौँ, तब हामी हाबी भएका छौँ। जब हामी नेतृत्वका विरुद्ध उभिएका छौँ, तब हामी दुवै हारेका छौँ,’ प्रतिवेदनमा उनले उल्लेख गरेका छन्।
एमालेभित्र अध्यक्ष ओलीको नेतृत्व र पार्टी सञ्चालनको शैलीलाई लिएर विभिन्न प्रश्न तथा असन्तुष्टि उठिरहेका बेला बादलको यो अभिव्यक्तिलाई नेतृत्वको पक्षमा गरिएको राजनीतिक सन्देशका रूपमा हेरिएको छ। ओलीनिकट मानिने बादलले प्रतिवेदनमा अध्यक्षको नाम लिएर नेतृत्वको बचाउ नगरे पनि पार्टीलाई नेतृत्वको वरिपरि एकताबद्ध गर्नुपर्नेमा विशेष जोड दिएका छन्।
गत फागुनमा सम्पन्न निर्वाचनमा एमालेसहित लोकतान्त्रिक शक्तिहरूले पराजय भोग्नुका पछाडि पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु, प्रमुख प्रतिस्पर्धी पहिचान गर्न नसक्नु र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसक्नु मुख्य कारण रहेको उनको विश्लेषण छ।
‘हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ। हामीले हाम्रा कमजोरीहरू बुझ्न सकेनौँ। हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ। हामीले आन्तरिक एकता कायम गर्न सकेनौँ। हामीले जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ,’ उनले प्रतिवेदनमा भनेका छन्।
बादलले विगतका निर्वाचनमा पार्टीले प्रतिस्पर्धी शक्तिविरुद्ध सहकार्य गर्न सकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको अवस्थामा सफलता हासिल गरेको स्मरण गराएका छन्। त्यसैले आगामी निर्वाचनमा विजय हासिल गर्न संगठनात्मक एकता र जनतासँगको सम्बन्धलाई पुनः मजबुत बनाउनुपर्ने उनको धारणा छ।
उनले आगामी निर्वाचनलाई ‘पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष’ का रूपमा चित्रण गरेका छन्। यसलाई सामान्य चुनावी प्रतिस्पर्धाका रूपमा मात्र बुझ्न नहुने भन्दै एमालेले अहिलेदेखि नै राजनीतिक, सांगठनिक र निर्वाचनसम्बन्धी तयारी थाल्नुपर्ने बताएका छन्।
‘फागुनको पुनरावृत्ति हुन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै आजको केन्द्रीय प्रश्न हो,’ उनको प्रतिवेदनमा उल्लेख छ।
आगामी वर्ष स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभाका निर्वाचन हुने भएकाले ती निर्वाचनलाई एमालेले गम्भीर रूपमा लिनुपर्ने बादलको सुझाव छ। उनका अनुसार आगामी निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन निर्धारण गर्नुका साथै संविधान संशोधनको प्रक्रियामा समेत प्रभाव पार्न सक्छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुईतिहाइ बहुमत जुटाएर संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्थालाई उल्लेख गर्दै उनले पपुलिस्ट शक्तिहरूले त्यस्तो बहुमत हासिल गर्ने प्रयास गर्न सक्ने आशंका व्यक्त गरेका छन्।
त्यसैले स्थानीय तह र प्रदेश सभामा अहिले रहेका लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूको वर्चस्व कायम राख्नु आवश्यक रहेको उनको भनाइ छ।
बादलले एमालेलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पाँचवटा विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। संगठन पुनर्निर्माण, राजनीतिक आन्दोलनको तयारी, निर्वाचनको तयारी, संविधान रक्षाका लागि कानुनी संघर्ष तथा जनतासँग प्रत्यक्ष संवादलाई उनले पार्टीको आगामी कार्यदिशाका महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन्।
उनले निर्वाचनमा पराजय हुनुका कारणबारे केन्द्रीय समितिले गरेको समीक्षाबाट प्राप्त निष्कर्षलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका छन्। विगतका कमजोरी सच्याउँदै पार्टीभित्रको एकता सुदृढ नगरे आगामी निर्वाचनमा पनि अपेक्षित परिणाम हासिल गर्न कठिन हुने उनको संकेत छ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेला गत फागुनको निर्वाचनमा पार्टीले बेहोरेको पराजयको समीक्षा, संगठन पुनर्निर्माण र आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको हो। भेलामा प्रस्तुत बादलको प्रतिवेदनले निर्वाचनमा भएको हारको समीक्षा गर्दै पार्टीको आगामी रणनीतिमा नेतृत्वको एकता र संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेको छ।
२०८३ मंसिर ४
ताजा नेपाल
२०८३ मंसिर ४
ताजा नेपाल
२०८३ मंसिर ४
ताजा नेपाल