Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले कार्यदलको बैठक : ओली पक्षको छुट्टै प्रतिवेदनले बढाएको जटिलता सुल्झाउने प्रयास

धुलिखेल । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको आवासीय बैठक काभ्रेको बल्थलीमा सुरु भएको छ। कार्यदलका सदस्यसहित एमालेका केन्द्रीय नेताहरू शनिबार बेलुकी काभ्रे पुगेका हुन्।

केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जुका अनुसार नेताहरू पनौती नगरपालिका–११, बल्थलीस्थित एक होटलमा बसेका छन्। सुरुमा धुलिखेलमा आवासीय बैठक गर्ने योजना भए पनि अन्तिम समयमा स्थान परिवर्तन गरी बल्थली लगिएको हो।

बैठकस्थल र होटलको व्यवस्थापन एमाले केन्द्रीय कार्यालयबाट सचिव डा. भीष्म अधिकारीले गरेका थिए। त्यसैले आफूलाई होटलको नामसमेत जानकारी नभएको ब्याञ्जुले बताएका छन्। बैठकस्थलबारे जिज्ञासा राख्दा सचिव अधिकारीले भने ठाउँ गोप्य राखिएको भन्दै जानकारी दिन नमिल्ने बताएका छन्।

एउटै प्रतिवेदनमा सहमति जुटाउन सकस

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पार्टीको नेतृत्व, संगठन र कार्यशैलीको समीक्षा गर्दै पुनर्गठनको आवश्यकता औंल्याउँदै एमालेले वैशाखमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो।

कार्यदलको असार २५ गते बसेको बैठकले उपाध्यक्ष बादल र महासचिव शंकर पोखरेललाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो। तर, महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि समेत प्रश्न उठाउँदै उनको बहिर्गमनको विषय समेटिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो।

त्यसपछि ओली पक्षका नेताहरूले प्रतिवेदन पुनर्लेखन गर्नुपर्ने धारणा राख्दै अर्को प्रतिवेदन तयार पारेका थिए।

प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने उद्देश्यले शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बसेको थियो। बैठकमा महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनसँगै अर्को प्रतिवेदनसमेत प्रस्तुत भएपछि कार्यदलमा सहमति जुट्न सकेन।

शुक्रबारको बैठक शनिबार पुनः छलफल गर्ने गरी टुंगिएको थियो। शनिबार पनि छलफलबाट तत्काल निष्कर्षमा पुग्न कठिन देखिएपछि नेताहरू आवासीय बैठकका लागि काभ्रे पुगेका हुन्।

आइतबार दिनभर छलफल हुने

एमालेका एक नेताका अनुसार बल्थलीमा हुने आवासीय बैठकले दुईवटा प्रतिवेदनका कारण उत्पन्न जटिलता समाधान गर्दै एउटै प्रतिवेदनमा सहमति जुटाउने प्रयास गर्नेछ।

बैठक आइतबार दिनभर सञ्चालन गर्ने तयारी छ। आवश्यक परे आइतबार रातिसमेत बल्थलीमै बसेर छलफललाई निष्कर्षमा पुर्‍याउने नेताहरूको तयारी रहेको ती नेताले बताए।

कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकालसहित नौवटै प्रदेशका इन्चार्ज सदस्य छन्।

एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि सात भौगोलिक प्रदेशसहित राजधानी, सम्पर्क मञ्च, केन्द्रीय आयोग, विभाग, सल्लाहकार परिषद्, प्रवास र जनसंगठनलगायतका निकायसँग छलफल गरी सुझाव संकलन गरेको थियो।

जेठ ३० गतेदेखि सुरु भएको सुझाव संकलन असार २३ गते सकिएको थियो। प्राप्त सुझावका आधारमा महासचिव पोखरेलले प्रतिवेदन तयार गरेका थिए।

तर, प्रतिवेदन पारित गर्ने चरणमा अध्यक्ष ओली पक्षबाट छुट्टै प्रतिवेदन आएपछि एमालेभित्र पुनः विवाद देखिएको हो। अहिले बल्थलीमा भइरहेको आवासीय बैठकको मुख्य उद्देश्य यही विवाद समाधान गरी निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एउटै प्रतिवेदनमा सहमति जुटाउनु रहेको नेताहरूले बताएका छन्।