Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले लुम्बिनीमा तनाव, संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

काठमाडौं । पार्टी महासचिव शंकर पोखरेलको हस्तक्षेपछि नेकपा एमाले लुम्बिनीमा तनाव सिर्जना भएको छ । संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए । आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताएका छन् । आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेको गिरीले जानकारी दिए । मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नभएकाले राजीनामा दिएको उनी निकट एक प्रदेश सांसदले बताए । महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट छन् । सोमबार बिहान मुख्यमन्त्रीमा दावी पेश गर्न जान पत्र तयार हुँदै गर्दा महासचिव पोखरेलले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गर्दै गिरीको साटो आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जानकारी गराएपछि गिरीले आफूमाथि घात भएको बताएका थिए । उनले तत्कालै अध्यक्ष ओलीलाई फोन गरेर दलको नेता हुँदाहुँदै उपनेतालाई मुख्यमन्त्री बनाउनु संसदीय पद्दति विपरीत भएको गुनासो गरेका थिए । तर ओलीले ‘यसपालीलाई यस्तै भयो’ भनेर टारेका थिए । अध्यक्ष ओलीको उत्तरबाट सन्तुष्ट नभएका गिरी आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेस र एमालेका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने क्रममा गएका थिएनन्, आज सपथ लिने कार्यक्रममा पनि गएनन् ।