Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फागुन २१ गतेको निर्वाचनमा पराजयपछि पार्टी नेतृत्व पुनर्गठनको माग गर्दै आएका नेकपा एमालेका नेताहरू अहिले आफ्नो अडानबाट पछि हट्न थालेका छन्। उनीहरूले तत्काल अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने पक्षमा आफूहरू नरहेको बताउन थालेका छन्।
शनिबार विराटनगरमा एमाले महासचिव शंकर पोखरेलले तत्काल पार्टी नेतृत्व परिवर्तनको पक्षमा आफू नरहेको स्पष्ट पारे। तर, उनै पोखरेलले साउनमा तयार पारेको पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनमा भने निर्वाचनमा पार्टी पराजित हुनु र जनजी आन्दोलनको जिम्मेवारी लिँदै ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव समेटेका थिए। यही विषयलाई लिएर अध्यक्ष ओली असन्तुष्ट रहँदै आएका छन्।
भदौ ६ गते पोखरेलले नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिप्पणी वा बाह्य छलफलबाट नभई पार्टीको संस्थागत प्रक्रियाबाट हुनुपर्ने बताएका थिए। सचिव भानुभक्त ढकालले पनि ओलीले नेतृत्व छाड्नुपर्ने निष्कर्षसहित तयार गरिएको प्रतिवेदन पुनर्लेखन गरेर मात्र कार्यदलमा पेस गरिने बताएका छन्।
एमाले नेताहरूका अनुसार नेतृत्व परिवर्तनबारे पछिल्लो धारणा परिवर्तन हुनुको प्रमुख कारण भदौ ४ गते साँझ ओली निवास गुन्डुमा भएको लामो छलफल हो। साँझ ६ बजेदेखि मध्यरातसम्म भएको छलफलमा कार्यदलका पाँच सदस्यसहित सात जना नेता सहभागी थिए।
बैठकमा वरिष्ठ उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव तथा कार्यदलका सदस्यसचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल तथा नेताहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए।
छलफलका क्रममा ओलीले पोखरेलले तयार पारेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसलाई संशोधन गर्न आग्रह गरेका थिए।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ओलीले प्रतिवेदनमा आफूलाई हटाउने विषय उल्लेख गरिएकोप्रति प्रश्न उठाउँदै विधानमा त्यस्तो व्यवस्था कहाँ रहेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि प्रतिवेदन नै पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकालिएको ती नेताको भनाइ छ।
तर, महासचिव पोखरेल तत्काल संशोधनका लागि तयार भएका थिएनन्। उनले प्रतिवेदनमा आफ्नो व्यक्तिगत धारणा नभई पार्टीका तल्लो तहबाट आएका सुझाव समेटिएको बताएका थिए।
पोखरेलले अध्यक्षको प्रशंसा समेट्दैमा पार्टी नबन्ने र तल्लो तहबाट आएका सुझाव हटाइए पार्टी पुनर्गठनको उद्देश्य नै कमजोर हुने धारणा राखेको बताइएको छ।
सचिव भानुभक्त ढकालका अनुसार गुन्डु बैठकमा अध्यक्ष ओलीले पार्टीभित्रका आन्तरिक विषयभन्दा मुलुकको वर्तमान अवस्था गम्भीर रहेको बताएका थिए।
उनका अनुसार ओलीले चुनौतीपूर्ण अवस्थामा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने र पार्टीभित्रका सानातिना मतभेदभन्दा राष्ट्रिय समस्याको समाधानलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
यही छलफलले नेताहरूबीच एकताको वातावरण निर्माण गरेको ढकालको दाबी छ।
निर्वाचन परिणामपछि अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने पक्षमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित पार्टीका बहुसंख्यक नेताहरू उभिएका थिए। सचिवालयमा समेत ओली अल्पमतमा परेपछि पार्टीको चुनावी समीक्षा र पुनर्गठनका लागि वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा जेठ १० गते १५ सदस्यीय कार्यदल गठन गरिएको थियो।
कार्यदलले प्रदेशस्तरमा पुगेर पार्टीका प्रदेश कमिटी, विभाग, जनसंगठन तथा तल्लो तहका नेताहरूसँग सुझाव संकलन गरेको थियो।
एमालेको चुनावी पराजयका कारण पहिचान गर्ने उद्देश्यले सुरु भएको छलफल पार्टीको आगामी राजनीतिक, वैचारिक तथा सांगठनिक दिशा तय गर्ने विषयसम्म पुगेको थियो। केही नेताले नेतृत्व हस्तान्तरणको माग गरेका थिए भने केहीले विशेष महाधिवेशनको प्रस्तावसमेत अघि सारेका थिए।
कार्यदलले १२ स्थानमा छलफल गरेपछि निर्वाचनमा पार्टी पराजित हुनुमा सबै पदाधिकारी जिम्मेवार रहेको निष्कर्ष निकालेको थियो। केही नेताले भने अध्यक्ष ओलीलाई मुख्य जिम्मेवार ठहर गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका थिए।
सुझाव संकलनपछि कार्यदलको प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेललाई दिइएको थियो। पोखरेलले तयार पारेको प्रतिवेदनमा जनजी आन्दोलन तथा निर्वाचनमा पार्टी पराजित भएको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले पद त्याग गर्नुपर्ने सुझाव समेटिएको थियो।
तर, ओलीले उक्त प्रतिवेदनमा व्यापक संशोधन गर्नुपर्ने धारणा राखे। संयोजक थापामार्फत समेत प्रतिवेदन संशोधनका लागि दबाब दिइएको बताइएको छ।
महासचिव पोखरेल भने तत्काल त्यसका लागि तयार नभएपछि कार्यदलको बैठकसमेत बस्न सकेको छैन।
उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीले महासचिवलाई प्रतिवेदन संशोधन गर्न भने पनि पोखरेल त्यसमा सहमत नभएको बताएका छन्।
सचिव भानुभक्त ढकालले भने पोखरेलले तयार पारेको प्रतिवेदन अन्तिम नभएको र अब त्यसलाई चरणबद्ध रूपमा परिमार्जन गरिने बताएका छन्।
उनका अनुसार प्रतिवेदन पहिले कार्यदलमा छलफल हुनेछ। त्यसपछि सचिवालयमा पठाइने र सचिवालयको सुझाव तथा परामर्शपछि थप परिमार्जन गरेर केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदनका रूपमा पेस गरिनेछ।
ढकालले गुन्डुमा भएको छलफल पार्टी जीवन र प्रतिवेदन दुवै विषयमा केन्द्रित रहेको र त्यसले सकारात्मक वातावरण बनाएको दाबी गरे।
उनका अनुसार यही छलफलपछि महासचिव पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलगायत नेताहरूले तत्काल अध्यक्ष हटाउनेभन्दा पार्टीलाई व्यवस्थित बनाउने विषयमा जोड दिन थालेका हुन्।
यसअघि ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा उभिएका एक नेताले पनि अहिले तत्काल नेतृत्व परिवर्तनभन्दा पार्टीको संगठन र पद्धति सुधारमा ध्यान दिनुपर्ने अवस्था आएको बताएका छन्।
उनका अनुसार बहुमत पदाधिकारी ओलीलाई हटाउन चाहने अवस्थामा भए पनि अध्यक्ष आफैँ पदबाट नहटे अर्को विकल्प खोज्नुपर्ने अवस्था आउन सक्छ। तर, पार्टीभित्र अवैज्ञानिक ढंगले जिम्मेवारी हेरफेर गर्दा विद्रोह र विभाजनको जोखिमसमेत रहेको उनको भनाइ छ।
ती नेताले अहिले संगठनलाई अघि बढाउने, पार्टीभित्र पद्धति स्थापित गर्ने र त्यसपछि आवश्यक निर्णय लिने विकल्प नै उपयुक्त हुने बताएका छन्।
यससँगै निर्वाचनपछिको एमालेभित्र देखिएको नेतृत्व परिवर्तनको बहस तत्कालका लागि केही मत्थर भएको देखिएको छ। तर, कार्यदलको अन्तिम प्रतिवेदन, सचिवालय र केन्द्रीय कमिटीमा हुने छलफलपछि ओलीको नेतृत्व तथा पार्टी पुनर्गठनको विषयले कुन दिशा लिन्छ भन्ने भने अझै स्पष्ट भइसकेको छैन।
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल