Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट पटक पटक आरोप लगाएका छन्,धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे !बिहीबार एक कार्यक्रममा पनि नेकपा एमालेका अध्यक्ष ओलीले यो सरकारले बनाउन नसक्ने भन्दै घण्टाघर नभत्काउन चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यिनीहरुले घण्टाघर बनाउँदैनन्, बेसरी गरे भने भत्काउने हो । म चुनौती दिएर भन्छु, घण्टाघर बनाउन सक्दैनन् । बनाउन नसक्नेले नभत्काऊ । के सरकारले घण्टाघर भत्काउन लागेको हो र ? यसका लागि २५ भदौमा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश भएको बजेट अध्यादेशको प्रातिस्थापन विधेयक हेर्नुपर्छ । त्यसको बुँदा नम्बर ४३ मा भनिएको छ, ‘मुलुककै सबभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिनेछ ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार घण्टाघरको पुनर्निर्माण योजना ओली सरकारकै पालामा बनेको हो तर बजेट छुट्याइएको थिएन । यो योजनाको लागि बजेट परेको भने अहिले मात्र हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार घण्टाघरको पुनर्निर्माणलाई बहुवर्षीय आयोजनामा राखेर बढीमा डेढ वर्षभित्र पुनर्निर्माण गर्ने योजना थियो । तर गत आर्थिक वर्षमा बहुवर्षीय योजनामा राख्न बजेट पुगेन । त्यही भएर घण्टाघर पुनर्निर्माणको योजनालाई बजेटमा राख्न सकिएन । चालु आर्थिक वर्ष २०७८-७९ मा भने बहुवर्षीय आयोजनामा समावेश गर्न पुग्ने गरी स्रोत सुनिश्चित गरिएको छ । घण्टाघर पुनर्निर्माणमा करिब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
२०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको घण्टाघर पुनर्निर्माणका लागि पुरातत्व विभागको सहमतिमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर स्वीकृत छ ।पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीका अनुसार घण्टाघर अहिले जुन स्थानमा छ, त्यहीँ पुनर्निर्माण हुनेछ । अहिले जुन स्वरुपको छ, त्यही स्वरुपमा पुनर्निर्माण गरिनेछ । ‘कतै रेट्रोफिटिङ गर्नुपर्ला, कतै पूरै भत्काएर पुनर्निर्माण गर्नुपर्ला’, ज्ञवालीले भने, ‘यसको ऐतिहासिक र पुरातात्विक महत्व जस्ताको तस्तै कायम हुन्छ ।’ उचाइ पनि अहिलेकै कायम राखिनेछ । चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया पूरा गरी निर्माण शुरु गर्ने र त्यसको डेढ वर्षमा निर्माणको काम सकिने प्राधिकरणका सीइओ ज्ञवालीले जानकारी दिए ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल