Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीविरोधी मोर्चा, विदेशीका खेताला

  • अर्जुन ज्ञवाली

सधैं नक्कली कुरा गरेर र झूठ बोलेर जनतालाई दिग्भ्रमित बनाउँदै आइरहेका विपक्षी गठबन्धनका नेताहरु हामीलाई सबै उस्तै हुन् भनेर नभनिदिनुस् ओलीभन्दा हामी फरक हौं भन्दै हारगुहार गरिरहेका छन् । पार्टी र गुटका झोला बोक्ने कार्यकर्ताहरुबाहेक साधारण जनतालाई विपक्षी गठबन्धनप्रति कुनै पनि आकर्षण छैन । यो त कागले कान लग्यो भन्ने हल्ला चलाएर कुखुरा चोर्ने छट्टु स्यालले मलाई चोर नभनिदिनुस् भने जस्तै हो । ओलीका विरुद्ध एजेन्डासहित संघर्ष गर्नु पर्दछ । तर, एजेन्डा पश्चिमा र क्रिश्चियनहरुको बोकेर देशमा हजारौं हजारको हत्या, लाखौं अंगभंग र घरवारविहीन बनाएका जनअपराधीहरुले २०४८ सालदेखिनै देशका राष्ट्रिय उद्योगधन्दा बिक्री गर्दै र राष्ट्रघात गर्दै आइरहेका छन् । कुनै समय टाउकाको मूल्य ५० लाख तोक्ने शेरबहादुरदेखि ५० लाखे टाउको भएका प्रचण्ड–बाबुरामको गठबन्धन ओलीका अगाडि किन यति निरिह छ ?

शेरबहादुर देउवा
पञ्चायतमा प्रवेश गर्न थालेपछि कृष्णप्रसाद भट्टराईले बेलायत पढ्न पठाइदिएका देउवा २०४६ सालपछि नेपाल आए । एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्या हुँदा गिरिजाको सरकारमा उनी गृहमन्त्री थिए । मदन हत्यामा गृहमन्त्रीको नसो कहीं न कहीं जोडिएको कुरा लुकेकेका कुरा होइन । ततपश्चात् सीआइए मिसनअन्तर्गत नेपालका लागि तत्कालिन अमेरिकी रादजूत जुलिया चाङ ब्लकले आरजु राणालाई विवाह गराइदिए । यो विवाह रोक्न कृष्णप्रसाद भट्टराईले खोजेका थिए तर उनी असफल भए । संसदीय व्यवस्था बदनाम गर्न पजेरो, प्राडो भिœयाउनेदेखि हरेक राष्ट्रघातको अगुवाई देउवाबाट हुँदै आइरहेको छ । वि.सं. २०५३ सालमा गरिएको राष्ट्रघाती महाकाली सन्धिदेखि पछिल्लो चरणमा एमसीसीसम्म राष्ट्रघात गर्न अग्रसर देउवा राजनीतिक रुपमा बदनाम र चरित्र नभएका देशद्रोही पात्र हुन् । उनलाई कुनै समय प्रजातन्त्र दरबारमा बुझाएको आरोप पनि छ ।

बाबुराम भट्टराई
नेपाल मानवअधिकार संगठनका अध्यक्ष सिआए एजेन्ट स्व. ऋषिकेश शाहले रअ र सिआइएसँग सम्बन्ध बनाइदिएका बाबुरामलाई रअको एजेन्ट नै भएको आरोप उनका सहकर्मीहरुले लगाउने गरेका छन् । पछिल्लो अन्तर्वार्तामा सीपी गजुरेलले भारतमा मोहन वैद्यसहित आफूहरुलाई रअको डिजाइनमा प्रचण्ड र बाबुरामले गिरफ्तार गराएको कुरा व्यक्त गरेका छन् । क्रिश्चियन मिसनअनुसार माओवादको व्यानरमा नेपालका मठ मन्दिर भत्काउन र धर्म गुरुहरुको हत्या गर्न परिचालित बाबुराम गण्डक इञ्चार्ज हुँदा उनको निर्देशनमा छुवाछुतविरुद्ध अभियान चलाएपछि वाचन शिरोमणि नारायणप्रसाद पोखरेलको हत्या गरिएको थियो । यसैगरी संस्कृत पढाउने गुरु मुक्तिनाथ अधिकारीलाई उनकै विश्वासपात्र देवेन्द्र पौडेलले पढाइरहेको समयमा कक्षाबाट थुतेर लगी निर्ममतापूर्वक हत्या गरेका थिए । अहिले इसाई मिसनअनुसार दलित, मधेशी ब्यानरमा देशमा जातीय र साम्प्रदायिक हिंसा मच्चाउन उद्दत रहेका छन् ।

मोहन विक्रम सिंह
प्यूठानका शामन्त खिमविक्रम सिंहका छोरा मोहन विक्रम सिंह घर्ती कम्युनिष्ट व्यानरमा रअ र भारतको काम गरेको कुरा बीपी कोइरालाले राजा, राष्ट्रियता र राजनीति पुस्तकमा व्यक्त गरेका छन् । कम्युनिष्ट व्यानरमा सीआइएले स्थापना गरेको रिमका संस्थापक सदस्य पनि हुन् । २०४८ सालमा कम्युनिष्टको बहुमत आउने भएपछि रअको सल्लाहमा चुनाव बहिष्कार गरेर काँग्रेसलाई बहुमत ल्याउन सघाएका थिए । २०३६ सालको जनमत संग्रह भारतको निर्देशनमा बहिष्कार गरेर पञ्चायतलाई सहयोग गरेका सिंहले बहुदलको प्रचारमा गोर्खामा जाँदा केशरजंग रायमाझी र कृष्णप्रसाद भण्डारीमाथि उनको विद्यार्थी संगठनका नेता बाबुराम भट्टराई र बाचास्पती देवकोटाको नेतृत्वमा हत्या गर्ने गरी आक्रमण गर्न लगाएका थिए । जुन कुरा रेकर्डमा छ । तर हत्या योजना असफल भएको थियो । विद्या ढकाल (जलजला) को रहस्यमय हत्या या मृत्युपछि उनको पोष्टमार्टम गरियो । पोष्टमार्टम गर्दा जलजलाको पेटमा बच्चा देखियो । पार्टी बैठकमा तत्कालिन चौमका महामन्त्री मोहनविक्रम सिंहको अवैध सम्बन्धबाट बच्चा रहेको भन्दै ऋषि देवकोटा (आजाद) ले पार्टी बैठकमा मोहन विक्रमलाई कारबाही गर्नुपर्ने र फाँसी दिनुपर्ने आवाज उठाएपछि ऋषि देवकोटाको षड्यन्त्रपूर्वक हत्या गरियो ।

उपेन्द्र यादव
मधेशी जनअधिकार फोरम नामक पश्चिमी एनजीओ चलाएका उपेन्द्र यादव कुनै समय मोहनविक्रमलाई जस्तै भारत र रअले संरक्षण दिएका पुष्पलालका चेला हुन् । तक्षशिला, नालन्दा, बनारस वैदिक दर्शनका शैक्षिक केन्द्र हुन् । बेलायतबाट एमबीबीएस गरेका डा. शिवनाथ डोग्रा (खप्तडस्वामी)ले आफ्नो सम्पूर्ण पेशा त्यागेर बनारसको क्विन्स कलेजमा आएर १२ वर्ष संस्कृत अध्ययन गरी साधनामा लाग्नुभएको थियो । तर त्यही बनारसमा बसेर पुष्पलालले हामी बाँदरका सन्तान र पुर्खा हौं भन्न सिकाए । यो कुरा उनको पुस्तकमा छ । यही बाँदर स्कुलिङबाट आएका उपेन्द्र यादव केही समय माओवादीमा रहेर क्षेत्रीय र साम्प्रदायिक हिंसा भड्काउन मधेशी जनअधिकार फोरम एनजीओलाई पार्टी दर्ता गरेर मैदानमा उत्रिए । लहानमा ४ वर्षीया निर्दोष बालकको हत्या गर्नेदेखि रौतहटमा सयौं मओवादीहरुको नरसंहारको जिम्मा लिने रक्त पिपासु अपराधी हुन् ।

मावधकुमार नेपाल
वर्तमान भारतको बिहारस्थित सितामढीमा जन्मिएका माधवकुमार नेपाल रअका भित्रिया पात्र हुन् । उनले २०४५ सालमै तत्कालिन मालेको ललितपुरको च्यासलमा बसेको बैठकमा भारतले हतियार दिन्छ, राजा फाल्न लागौं भन्ने प्रस्ताव ल्याएका थिए । मदन भण्डारी र सीपी मैनालीले त्यो एजेन्डालाई प्रवेशै गर्न दिएनन् । मदन हत्यापछि रअकै डिजाइनमा उनलाई एमालेको महासचिव बनाइयो । राष्ट्रघाती महाकाली सन्धिदेखि बदनाम इसाइ मण्डलीको होली वाइन कार्यक्रममार्फत् बदनाम नेपाल पश्चिमाका पनि कारिन्दा हुन् भन्ने कुरा आफंैले पुष्टि गरेका छन् । कुनै समय आमाको क्रिया नगरी दरबारमा प्रधानमन्त्रीको निवेदन हाल्न पुगेका नेपाल केपी ओली र मोहनचन्द्र अधिकारीलाई सुराकी गरेर पञ्चायतमा जेल हालेको आरोप पनि छ । माधव नेपालको सल्लाहअनुसार भारतबाट केपी ओलीले मोहनचन्द्र अधिकारीलाई फिर्ता ल्याई रौतहटमा पार्टी कामको सम्पर्कमा जाँदा मोहनचन्द्र अधिकारी र केपी ओली दुवै जना २०३० साल असोज २२ गते गौरबाट पक्राउ परेका थिए । माधव नेपाललाई भेट्नासाथ पक्राउ पर्नुलाई रहस्यमय रुपमा हेरिएको छ । उनका बुबा मंगलप्रसाद नेपाल राणाहरुका कारिन्दा थिए । यहाँसम्मकी नेपालका कम्युनिष्टहरुलाई दामोदर समशेरले पालेका हुन् भन्ने गर्दछन् । दामोदर समशेरको मृत्यु भएपछि उनको क्रिया नेपालका बाबु मंगलप्रसाद नेपालले गरेका थिए ।

पुष्पकमल दाहाल
अमेरिकनहरुले लगानी लगाएको राप्ति प्रोजेक्टमा कुनै समय जागिर खाएका प्रचण्ड मोहन वैद्यको क्रिश्चियन पार्टी मटो मशालबाट एकताकेन्द्र हँुदै माओवादी हिंसाको नेतृत्व गरे । पछिल्लो चरणमा उनले आफूलाई सच्याउँदै चीनसँग समदुरी सम्बन्धको विकासमा महत्वपूर्ण भूमिका निभाएपछि उनलाई पुष्पकमल दाहालबाट प्रचण्ड बनाउने शक्ति केन्द्रले घेराबन्दीमा पार्दै लगे । आफ्नो वरिपरिको घेराबन्दी चिर्न र चिन्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी थियो । चीनसँग सम्झौता गर्न थालेपछि प्रायोजित रुपमा कटवाल प्रकरण खडा गरियो । जसमा उनलाई बाबुराम र बादलले फसाए । अहिले बाबुराम उपेन्द्र यादवसँग छन् भने बादल केपी ओलीसँग । एमालेसँग पार्टी एकीकरण गरेपछि कुनै समय रअका विश्वासपात्र माधव नेपाल र क्रिश्चियन र होली वाइनबाट बदनाम माधव नेपाल बोकेर नेकपामा गणितका खेल खेल्न खोज्नु उनको आत्मघाती कदम थियो । जसको परिणाम नै बर्तमान अवस्था हो । उनी कहिले दरबार, कहिले भारत, कहिले चीन, कहिले पश्चिमा सबैले प्रयोग गरेका र कसैले पनि भरपर्दो रुपमा विश्वास गर्न नसक्ने अस्थिर पात्र हुन् ।

कथित नागरिक अभियन्ताहरु
सबैभन्दा धेरै एनजीओ र आइएनजीओ नेकपा एमालेमा छन् । तिनै पश्चिमी एनजीओसँग जोडिएका कथित नागरिक अभियन्ता र पत्रकारहरुको ओली विरुद्धको अभियान जनताले पत्याउन छाड्नुको कारण यी सबैको केन्द्र एउटै हो र उस्तै हुन् । यसकारण विपक्षी गठबन्धनले सबै उस्तै होइनन् हामी फरक हौं भनेर देखाउने कुनै पनि एजेन्डा छैन । हामी ओलीभन्दा फरक हौं, प्रगतिशिल हौं, इसाइका मतियार हौं, अझै पनि बन्न तयार छौं, धर्म निरपेक्षता संकटमा प¥यो, देश चिरा पारिएको संघीयता संकटमा प¥यो, लौन हामी ओलीजस्ता होइनौं भनेर गुहार मागिररहेका छन् । हो, ओलीसँगको संघर्ष पेचिलो बनेको छ । तर, ओलीसँगको संघर्ष एजेन्डाबिना हुँदैन र हुन सक्दैन । ओलीको विकल्प खोज्नेहरुसँग एजेन्डा खै ? यसकारण यिनीहरुको नसा बुझेका ओलीले बिरालोले मुसो खेलाएजस्तो खेलाइरहेका मात्र छैनन् दिर्घकालीन योजनाका साथ विपक्षी गठबन्धनको राजनीति नै मटियामेट बनादिने रणनीतिका साथ पाइला चालेका छन् । सबैलाई चेतना भया । (प्रस्तुत टिप्पणि लेखकका नीजि विचार हुन्)