Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडाैं । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकार र मृतकका परिवारबीच सात बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा रातभर चलेको वार्तापछि शुक्रबार बिहान सहमति भएको हो, जससँगै परिवारले अस्पतालमा रहेका मृतकहरूको शव बुझ्न सहमति जनाएको छ।
सहमतिअनुसार घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। दुवै परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ भने प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गरिनेछ।
यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र गतिविधिबारे तत्काल अनुसन्धान सुरु गर्ने सहमति भएको छ।
स्थानीय सरकारसँगको समन्वयमा मृतकहरूको सम्झनामा ‘स्मृति पार्क’ निर्माण गरिने र शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गरिने पनि सहमतिपत्रमा उल्लेख छ। सरकार र पीडित पक्षबीच भएको यस सहमतिले घटनापछि उत्पन्न तनाव साम्य पार्दै शान्ति र सद्भाव कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२०८३ श्रावण १५
ताजा नेपाल
२०८३ श्रावण १५
ताजा नेपाल
२०८३ श्रावण १४
ताजा नेपाल