Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नवगठित मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व नगराएको भनेर सरकारको आलोचना भएको छ । सत्तारुढ कांग्रेस र एमालेमा पनि असन्तुष्टि देखिन्छ । यद्यपि नेताहरु खुलेर बोलेका छैनन् । नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेसँगै कांग्रेसमा सहमहामन्त्री जीवन परियार र एमालेमा सचिव छविलाल विश्वकर्मा मन्त्री हुने पक्का जस्तै थियो । कांग्रेसका उपल्लो तहबाट उपसभापति र महामन्त्री सरकारमा नजाने भएसँगै पदाधिकारीबाट जीवन परियार मन्त्री हुने निश्चित रहेको नेताहरुले दाबी गर्दै आएका थिए । शनिबार कार्यसम्पादन समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा शीर्ष तहका एक नेताले चार जनाको नाम निश्चित रहेको बताएका थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री जीवन परियार, नेताहरु रमेश लेखक र आरजु राणाको नाममा थप छलफलको आवश्यकता नहरेको दाबी गरेका थिए । परियार कांग्रेसभित्र शेखर–गगन समूहमा छन् । कांग्रेसले पाएको १० मन्त्रालयमध्ये ४ वटा यो समूहले पाएको थियो, त्यसमा तेजुलाल चौधरीलाई पठाउनुपर्ने शर्त पनि थियो । बाँकी रहेको तीन मन्त्रीका लागि आकांक्षी धेरै थिए । तर सहमहामन्त्री परियार निर्विकल्प जस्तै थिए । शेखर कोइरालाले उनलाई सरकारमा पठाउने वचन दिएका थिए, महामन्त्री गगनकुमार थापा पनि उनलाई रोक्ने पक्षमा थिएनन् । तर जब मन्त्री सिफारिस गर्नुपर्ने भयो, महामन्त्री गगनले प्रदीप पौडेलको नाम लिए । डा। शेखरले जीवनको नाम ल्याउँछन् भन्ने उनको अनुमान थियो । तर शेखरले हृदयराम थानी र रामनाथ अधिकारीको नाम अगाडि सारे । त्यो दिन निर्णय भएन । बरु सभापतिसँग तेजुलाल चौधरी बाहेक ४ मन्त्रीका लागि माग गर्ने सहमति भयो । तर देउवा मन्त्रालयको संख्या थप्न तयार भएनन् । सोमबार विहान फेरि शेखर–गगन समूहको बैठक बस्यो । संस्थापन समूहबाट मन्त्री बन्नेहरुको नाम टुंगिसकेको थियो, जसमा पदाधिकारी कोही थिएनन् । त्यसपछि महामन्त्री गगन थापाले एक जना सहमहामन्त्री पठाउनुपर्ने मत राखे । यो समूहबाट सहमहामन्त्री परियार र बद्री पाण्डे छन् । छलफलका क्रममा मापदण्ड बन्यो, पहिला सरकारमा नगएका र प्रत्यक्ष चुनाव जितेकालाई पठाउने । त्यही मापदण्डका आधारमा सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य प्रदीप पौडेल र रामनाथ अधिकारीको नाम सिफारिस भएको एक नेताले बताए । पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बने । प्रदीप स्वास्थ्य तथा जनसंख्या र अधिकारी कृषिमन्त्री भए । पक्का भनिएका समानुपातिक सांसद जीवन परियार भने छुटे । शेखर–गगन समूहका एक नेताका अनुसार सहमहामन्त्री पाण्डे मन्त्री नभएको भए पनि परियार पर्ने सम्भावना थिएन । बद्री पाण्डेका कारण जीवन परियार मन्त्री बन्न नपाएको प्रचार गलत भएको भन्दै ती नेताले भने ‘मापदण्ड नबनाएको भए बद्रीको ठाउँमा जीवन होइन, हृदयराम थानी वा चन्द्र भण्डारी मन्त्री हुने थिए । लामो समयदेखि कोइराला समूहमा रहेका परियारले पार्टी नेताहरुसँग आफ्नो समूहको मूल नेतृत्वले धोका दिएको गुनासो गर्ने गरेका छन् । परियारले आफू निकट नेताहरुसँग भन्ने गरेका छन्, म त समूह परिवर्तन गरेको आयातित पनि होइन । सधैं कोइराला पक्षमै छु । अरुलाई के भन्नु र ? परियारले यसअघि संसदीय समितिको सभापति समेत अस्वीकार गरेका थिए । कांग्रेसको भागमा परेको चार सभापतिमध्ये संसदीय सुनुवाइ समिति शेखर–गगन पक्षलाई छुट्याइएको थियो । तर उनले समिति सभापति पद अस्वीकार गरे । मन्त्री हुन नपाएपछि चन्द्र भण्डारी पनि असन्तुष्ट बनेका छन् । असन्तुष्ट भण्डारीले सामाजिक सञ्जालमा लेखेका थिए, कतिपय घटनाहरु आनन्ददायी र शिक्षाप्रद हुन्छन् । धेरै दुःखी र खुसी हुनुपर्दैन । उपयुक्त समयको प्रतीक्षा ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल