Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँ कसको नेतृत्वमा जुलुस निस्किँदैछ

काठमाडौं । संसद विघटनपछि निरन्तर सडक संघर्षमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहले आज राजधानीमा जनसभा गर्न लागेको छ । औपचारिक रुपमा विभाजित नभए पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका दुई पक्षबिच शक्ति प्रदर्शनको होडबाजी कायमै छ। पुस २३ गते सत्तारुढ नेकपाले राजधानीको दरबारमार्गमा शक्ति प्रदर्शन गर्‍यो भने त्योभन्दा ठूलो शक्ति पुस २८ मा देखाउने घोषणा गर्‍यो आन्दोलनमा रहेको समूहले। सत्तारुढ नेकपाको शक्ति प्रदर्शनमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे भने आज हुने आन्दोलनरत समूहको शक्ति प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने छन्।
बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने तयारी प्रचण्ड माधव समूहले गरेको छ। राजधानीका पाँच स्थानबाट जुलुस निकाल्दै प्रदर्शन गर्ने नेकपाले जनाएको छ। त्रिपुरेश्वरबाट निस्कने जुलुसलाई अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मालगायतले नेतृत्व गर्नेछन्। जुलुसमा वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतका नेताहरु पनि हुनेछन्।
त्यस्तै माइतीघरबाट शुरु हुने जुलुसलाई अमृत बोहरा, गिरिराजमणि पोखरेल, गणेश साह, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायत नेताहरुले नेतृत्व गर्नेछन्। पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्।
यस्तै केशरमहलबाट शुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरुले गर्नेछन्। त्यसैगरी जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्ने छन्। मुल जुलुस राजधानीको विभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभास्थलमा जम्मा हुने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।