Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीभित्र आफ्नो स्वार्थ पूरा गर्न काँग्रेसका नेताहरुको गुट परिवर्तनको खेल चर्किरहेको छ । नेपाली कांग्रेसको विधानअनुसार चार–चार वर्षमा पार्टीको महाधिवेशन हुनुपर्छ। सोहीअनुसार कांग्रेसको १५औँ महाधिवेशन हुने मिति ०८२ मंसिर हो। कांग्रेसले १४ औँ महाधिवेशन २०७८ मंसिरमा गरेको थियो। यद्यपि, कांग्रेसको महाधिवेशन नियमित समयमा नभएको इतिहास छ। तैपनि, अहिले नेताहरू १५ औँ महाधिवेशनको तयारीमा लागिसकेका छन्। १४ औँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित डा शेखर कोइराला फेरि उम्मेदवार बन्ने घोषणासहित देश दौडाहामा छन्। कोइराला सभापतिको पक्का उम्मेदवार बन्दा अब भने उनको प्रतिस्पर्धा देउवासँग हुने छैन। कांग्रेस विधानले एकै व्यक्ति तेस्रोपटक पार्टी सभापति हुन दिँदैन। देउवा अहिले सभापतिको दोस्रो कार्यकालमा छन्। पार्टीमा अब देउवा सभापति बन्न नपाउने भएसँगै उनको समूहमा रहेका नेताहरू गुट परिवर्तनमा लागेका छन्। कांग्रेस पदाधिकारी १४ जना छन्। यीमध्ये ६ जना कोइराला समूहमा रहेर आगामी महाधिवेशनमा होमिन तयार भएका छन्। ६ जनामध्ये ४ जना गुट परिवर्तन गरेर कोइरालाकहाँ पुगेका हुन्। कांग्रेसका १४ पदाधिकारी सभापतिले नियुक्त गर्ने कोषाध्यक्षसहितमध्ये उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार १४ औँ महाधिवेशनमै कोइराला गुटबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्। उनीहरू अहिले पनि कोइराला गुटमै छन्। यीबाहेक प्रकाशमान सिंह गुटबाट महामन्त्रीको उम्मेदवार बनेर निर्वाचित विश्वप्रकाश शर्मा पनि कोइरालासँगै रहने नेताहरू बताउँछन्। शर्मा महाधिवेशनमा सिंहको समूहबाट महामन्त्री उम्मेदवार भए पनि उनले देउवासँग सम्बन्ध भने सुमधुर नै राखिरहेका थिए। १४ औं महाधिवेशनअघि उनै शर्मालाई देउवाले पार्टीको प्रवक्ताको जिम्मेवारी दिएका थिए। देउवा गुटबाट निर्वाचित सहमहामन्त्री भीष्मराज आङ्दम्बे पनि कोइराला समूहनिकट भएका छन्।
आङ्दम्बे कोइराला सहभागी भएको कार्यक्रमहरूमा सहभागी हुन थालिसकेका छन्। महेन्द्र यादव देउवा समूहबाट उम्मेदवार बनेर सहमहामन्त्री निर्वाचित भएका हुन्। उनी पार्टीमा देउवाभन्दा पनि बालकृष्ण खाणनिकट नेता हुन्। खाण कोइरालासँग नजिक भएपछि उनी पनि कोइरालानजिक पुगेका छन्। देउवा गुटमा सक्रिय भएका तर आफू भुटानी शरणार्थी प्रकरणमा मुछिँदा देउवासहितको सहयोग नपाएको आक्रोशसहित बालकृष्ण खाण कोइरालासँग नजिक छन्। खाण शरणार्थी मुद्दाको पुर्पक्षका लागि थुनामा हुँदा कोइरालाले कारागार नै पुगेर तीनपटक भेटेका थिए।
२०८१ माघ १९
ताजा नेपाल
२०८१ माघ १९
ताजा नेपाल
२०८१ माघ १९
ताजा नेपाल