Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको मतगणना आज सकिँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि १० दिनदेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीन क्लष्टरअन्तर्गत केन्द्रीय सदस्यहरूको मतगणना जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजेदेखि बाँकी रहेका तीन क्लष्टरको मतगणना सुरु भएको हो । निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार अहिले खसआर्य, आदिवासी जनजाति र दलित क्लष्टरका केन्द्रीय सदस्यहरूको मतगणना जारी छ ।

श्रेष्ठका अनुसार खसआर्यको पाँच स्थानबाट, आदिवासी जनजातिको चार स्थानबाट र दलितको पाँच स्थानबाट मतगणना जारी छ । आजै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको उनले बताए ।

कांग्रेस विधानानुसार दलित क्लष्टरतर्फ चार महिलासहित नौजना केन्द्रीय सदस्यमा निर्वाचित हुने व्यवस्था छ । यस्तै, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना केन्द्रीय कार्यसमितिमा रहनेछन् । खसआर्यतर्फ ६ महिलासहित १३ जना केन्द्रीय सदस्य बन्न पाउने विधानको व्यवस्था छ ।

“खसआर्यतर्फ धेरै उमेदवार भएकाले गणना केही सुस्त भएको महसुस भइरहेको छ,” सदस्यसचिव श्रेष्ठले भने, “हामी आजै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा छौँ ।
कांग्रेस विधानले १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्ने व्यवस्था गरेको छ । जसमध्ये १३४ जना खुला र क्लष्टरबाट निर्वाचित हुनुपर्ने विधानको व्यवस्था छ । जसमा १४ जना पदाधिकारी रहनेछन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको मंसिर २७ गते रातिदेखि मतगणना सुरु भएको थियो । पहिलो चरणमा सभापतिको नतिजा नआएपछि २८ गते पुनः मतदान गरिएको थियो । सोही राति सभापतिको मतगणना सुरु भएर २९ गते बिहान परिणाम सार्वजनिक भएको थियो । सभापतिमा दोस्रो कार्यकालका लागि शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

निर्वाचन समितिले २९ गतेदेखि केन्द्रीय उपसभापतिको मतगणना सुरु गरेर पुस १ गते बिहान नतिजा सार्वजनिक गरेको थियो । धनराज गुरुङ र पूर्णबहादुर खड्का उपसभापतिमा विजयी भएका थिए ।

कांग्रेस महामन्त्रीतर्फको मतगणना पुस १ गते बिहान सुरु गरिएको थियो । सोही दिन दिउँसो महामन्त्रीको अन्तिम नतिजा आएको थियो । गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए ।

केन्द्रीय निर्वाचन समितिले महामन्त्रीको नतिजा आएको केही समयमै सहमहामन्त्रीतर्फको मतगणना सुरु गरेको थियो । क्लष्टरबाट आठ सहमहामन्त्रीमध्ये दलित, आदिवासी जनजाति तथा महिलातर्फको मतगणना गरिएको थियो । पुस २ गते बिहान आएको अन्तिम नतिजाअनुसार दलिततर्फ जीवन परियार, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे तथा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी थिइन् ।

बाँकी रहेका पाँच क्लष्टरमा भने पुस २ गते मतगणना भएको थियो । जसमध्ये पिछडिएको क्षेत्रमा बद्री पाण्डे, मुस्लिमतर्फ फरमुल्लाहा मन्सुर, खसआर्यतर्फ किशोरसिंह राठौर, मधेसीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी विजयी भए ।

सोही दिनदेखि सुरु भएको केन्द्रीय सदस्यहरूको मतगणना आज ९बिहीबार० सकाउने लक्ष्य राखिएको सदस्यसचिव श्रेष्ठले बाह्रखरीलाई बताए ।


सम्बन्धित समाचार