Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेतृत्वको लाचारीविरुद्ध युवाहरुले शुरु गरेको विद्रोह अन्ततः बहुमतका साथ अघि बढेको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ। काठमाडौंस्थित भृकुटीमण्डमा आयोजित विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताले कांग्रेसको ग्रासरुटमा रहेको विद्रोह विस्फोट देखिन्छ। देशमा भदौ २३ र २४ मा भएको जेन्जी विद्रोहपछि कांग्रेसको ग्रासरुटबाटै उठेको पार्टीको नीति र नेतृत्व परिवर्तनको आवाज संगठित रूपमा आज भृकुटीमण्डपमा गुन्जिएको हो। गत असोज २९ गते पार्टी कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित दर्ता भएको प्रस्तावलाई नियमित महाधिवेशनको कार्यसूचीले निष्क्रिय बनाउने नेतृत्वको रणनीति खण्डित भएको छ। पार्टीले विशेष महाधिवेशनमा सहभागी नहुन गरेको निर्देशन र नेताहरूको दबाबलाई प्रवाह नगरी भृकुटीमण्डपमा उर्लिएको कांग्रेसी भेलले लिने निर्णयप्रति आम चासो छ।
सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतले अपनत्व नलिएको र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट हुने निर्णयमा नेपालको राजनीतिवृत्त ध्यानमग्न छ। किन भने कांग्रेसको विभाजन र एकता विशेष महाधिवेशनको हलको हातमा छ। महाधिवेशनले लिने निर्णयमा उद्घाटन समारोहका वक्ताको धारणामा मतक्यौता नभएजस्तै महाधिवेशन प्रतिनिधि पनि दुई भागमा विभाजित छन्। महामन्त्री थापाले महाधिवेशनको हलले पार्टी विधानअनुसार नीति र नेतृत्व चुन्ने बताए। ‘कांग्रेसको विधानले भन्छन्–महाधिवेशनभन्दा ठुलो केही छैन। महाधिवेशनले नेता पनि छान्छ, नेता बदल्छ पनि, उनको उद्घोष थियो। कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको भए विशेष महाधिवेशनका एजेन्डा पहिले नै स्पष्ट हुने भए पनि प्रतिनिधिले आयोजना गरेको भएले हलभित्रै एजेन्डा तय हुने थापाको भनाइ छ। इतिहासमा सुवर्ण शमशेर राणाले बीपी कोइरालालाई नेतृत्व सुम्पनका लागि विशेष महाधिवेशन आयोजना गरेको थापाले स्मरण गराएका थिए। नेताहरू गुरुराज घिमिरे र केदार कार्कीले पनि महाधिवेशनको हलले नेतृत्व परिवर्तन गर्नुपर्ने जोडदार आवाज उठाएका थिए। बहुमत महाधिवेशन प्रतिनिधि सहभागी समारोहमा नेता महेश आचार्यले बहुमत प्रतिनिधि जता उभिन्छन्, त्यहीँ हुन्छ पार्टी हुने बताएका थिए। नेतृत्व परिवर्तनको विषयमा मञ्चका नेतामा मतक्यौता नभएजस्तै भृकुटीमण्डपमा भरिभराउ महाधिवेशन प्रतिनिधिमा पनि मतक्यौता पाइएन। नेपालखबरले करिब ४ सय जना महाधिवेशन प्रतिनिधिको राय लिँदा नेतृत्व परिवर्तनको मत विरलै भेटिन्थ्यो। अधिकांश महाधिवेशन प्रतिनिधि आगामी वैशाख २८–३१ का लागि तय गरिएको १५ औँ महाधिवेशनको म्यान्डेटको शंखघोष गरेर विशेष महाधिवेशन सम्पन्न हुने मत राख्छन्। नेता घिमिरेका अनुसार पार्टीको केन्द्रीय समितिले स्वामित्व लिँदा विशेष महाधिवेशनको कार्यदिशा सहमतिमै तय हुने सम्भावना हुन्छ। महामन्त्री थापा, अर्का महामन्त्री शर्मा र एकताको चिन्तासहितको तीनथरि मत हुलसम्म पुग्ने देखिन्छ । नेता मधु आचार्यले विशेष महाधिवेशन पार्टी एकता र चुनावी तयारीमा गएर टुङ्गिने बताउँछन्।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल