Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म नै हुने भएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा नौ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको कार्यतालिकामा भने केही हेरफेर गर्ने निष्कर्ष निकालेको हो।
बैठकको समापन गर्दै सभापति गगन थापाले महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारे। उनका अनुसार पार्टीका तल्ला तहका अधिवेशनको प्रक्रिया भने मंगलबारदेखि सुरु हुनेछ।
महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन गराउन खटिने निर्वाचन अधिकृतहरूलाई मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रशिक्षण दिइने भएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काको संयोजनमा हुने प्रशिक्षणमा सभापति थापा पनि सहभागी हुनेछन्। कांग्रेसले कानुनी पृष्ठभूमि भएका व्यक्तिहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।
सभापति थापाले पार्टीका सबै पक्ष र विचार समूहलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको बताए। उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निमन्त्रणा गर्ने जानकारी दिए।
‘नेताहरूसँग अझै केही दिन म संवादको प्रयास गर्छु,’ थापाले केन्द्रीय समिति बैठकमा भने, ‘केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुन्छ। हामी निवर्तमान सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने महाधिवेशन उद्घाटन सत्रमा बोलाउँछौँ।’
उनले महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन प्रतिबद्ध रहेको बताउँदै विभिन्न समितिमा विशेष महाधिवेशनमा सहभागी हुन नसकेका नेताहरूलाई समेत समेटेर अघि बढ्न सकिने संकेत गरे।
सभापति थापाले पार्टीभित्र विभिन्न समूहले भेला तथा छलफल गर्न पाउने भए पनि पार्टीले तय गरेको अधिवेशन कार्यतालिका कार्यान्वयनमा भने कसैलाई छुट नदिइने बताए।
साउन २९ देखि ३१ गतेसम्म संस्थापनइतर पक्षले आयोजना गरेको भेलामा आठ जना जिल्ला सभापति तथा केही क्षेत्रीय सभापति सहभागी भएको उल्लेख गर्दै थापाले कांग्रेसमा यस्ता भेला हुनु सामान्य अभ्यास भएको बताए।
‘भेलाहरूमा सहभागी हुन पाइन्छ, कांग्रेसमा भेला हुनु परम्पराजस्तै हो, मैले पनि कतिपय भेला गरेको थिएँ,’ उनले भने, ‘तर पार्टीको निर्णयअनुसार तोकिएको कार्यतालिका कार्यान्वयन गर्दिनँ, अधिवेशन गराउन सक्दिनँ भनेर कोही साथीले भन्नुहुन्छ भने त्यहाँ अर्को साथीलाई जिम्मेवारी दिइन्छ, अधिवेशन गराइन्छ।’
क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने केही वडा तथा क्षेत्रीय तहका पदाधिकारीको जिम्मेवारीसमेत अन्य व्यक्तिलाई दिएर प्रक्रिया अघि बढाइएको उनले बताए।
कांग्रेसमा हाल करिब ८ लाख क्रियाशील सदस्य रहेको बताइएको छ।
सभापति थापाले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास जारी रहेको पनि बताए।
उनका अनुसार निवर्तमान सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग समेत पटक–पटक संवाद भइरहेको छ। उनीहरूबाट पार्टी एकताको पक्षमा सकारात्मक भूमिका भइरहेको जानकारी थापाले केन्द्रीय समिति बैठकलाई गराएका छन्।
अब कांग्रेसले तल्ला तहका अधिवेशन प्रक्रिया अघि बढाउँदै असोज १६–१९ गते हुने १५औँ महाधिवेशनका लागि संगठनात्मक तयारी तीव्र पार्ने भएको छ।
२०८३ भाद्र २
ताजा नेपाल
२०८३ भाद्र २
ताजा नेपाल
२०८३ भाद्र २
ताजा नेपाल