Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसमा जुट्यो सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउने विषयमा नेपाली कांग्रेसमा सहमति जुटेको छ। सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सरकारमा मन्त्री पठाउने विषयमा सहमति जुटेको हो। बिहीबार बिहान नेता कोइरालाको सचिवालयमा बसेको कोइराला समूहको बैठकमा नेताहरूले यस्तो जानकारी गराएका हुन्। आफूनिकट नेताहरूको बैठकमा कोइरालाले मन्त्री पठाउने विषयमा सहमति भएको तर उपनिर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको बताएका थिए। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएकोमा कोइराला समूहले ३ मन्त्रालयमा दाबी गरेको थियो। सभापति देउवा भने यो समूहलाई एक राज्यमन्त्रीसहित दुई मन्त्री दिन चाहेका थिए।
पार्टीभित्रै किचलो भएपछि देउवाले अन्तिम समयमा चार जना मन्त्रीको नाममात्रै पठाएको थिए। आफ्नो भागमा परेको मन्त्रालयका लागि कांग्रेसले मन्त्रीहरूको नाम नपठाउँदा स्वास्थ्य, परराष्ट्रलगायतका मन्त्रालयको कार्यभार अझै प्रधानमन्त्रीमाथि छ। मन्त्रीका विषयमा कांग्रेसमा गुटगत किचलो भएपछि प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीले छोडेको खानेपानी मन्त्रालयसमेत कांग्रेसलाई दिएर मन्त्रिपरिषद विस्तारलाई सहज बनाउने प्रयास गरेका छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ मन्त्री बनेका छन्। कोइराला समूहको बैठकमा महामन्त्री गगन थापा र नेता कोइरालाले समसामयिक राजनीतिका विषयमा ब्रिफिङ गरेका थिए। ‘राजनीतिक घटनाक्रमबारे शेखरजी र महामन्त्रीजीले आफ्नो धारणा राख्नुभयो। त्यही क्रममा सरकारमा हाम्रो समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री पठाउने सहमति भएको कुरा पनि जानकारी भयो,’ एक नेताले भने। उनकाअनुसार मन्त्री पठाउने विषयमा सहमति भए पनि उपनिर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको छ।