Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवादबीच पूर्वसभापति शेरबहादुर देउवा समूहका प्रभावशाली नेताहरू सभापति गगन थापाले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी हुन थालेका छन्।
देउवा समूहका डिना उपाध्याय, किशोरसिंह राठोर, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ र गोविन्द भट्टराईलगायतका नेता शुक्रबार सानेपा पुगेका हुन्।
उनीहरू पार्टीले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरेको वडा अधिवेशनमा सहभागी हुने तयारीमा छन्। लामो समयदेखि देउवा समूहमा रहेका नेताहरू थापा पक्षको प्रक्रियामा सहभागी भएपछि कांग्रेसभित्रको शक्ति समीकरणमा फेरबदल देखिएको छ।
देउवा समूहका तर्फबाट १४औँ महाधिवेशनमा पदाधिकारी निर्वाचित उमाकान्त चौधरी भने देउवासँगै रहेको बताइएको छ। चौधरीकै पहलमा मंसिरमा महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका अघि सारिएको थियो।
नेता मीनबहादुर विश्वकर्माका अनुसार देउवा तथा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट ५० भन्दा बढी नेता सानेपा पुगेका छन्। उनले शनिबार बेलुकासम्म केन्द्रीय कार्यसमितिका करिब ९० प्रतिशत सदस्य संस्थापन पक्षमा सहभागी हुने दाबी गरेका छन्।
विश्वकर्माले आफूहरूका केही माग सम्बोधन भएपछि बैठकमा सहभागी भएको बताए। उनले पूर्वसभापति देउवालाई धोका दिएको भन्ने आरोप अस्वीकार गरे।
उनका अनुसार देउवा अहिले कुनै पदका उम्मेदवार नरहेको र उनको दोस्रो कार्यकाल पनि मंसिरमा सकिँदैछ। पार्टीको रुख चिह्न, चारतारे झन्डा र आधिकारिक कांग्रेसलाई बलियो बनाउन आफूहरू सानेपा पुगेको उनको भनाइ छ।
नेता रामहरि खतिवडाले पनि आफूहरू पार्टी एकताको पक्षमा रहेको बताएका छन्।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट मानिने खतिवडाले पार्टीभित्र विभाजनको बाटो रोज्नुभन्दा एकताका लागि पहल गर्नुपर्ने बताए।
उनले सबै पक्षसँग संवाद भइरहेको र आफूहरू ‘फुट्ने होइन, जुट्ने अभियान’मा रहेको बताएका छन्।
पूर्वसभापति देउवाले यसअघि मंसिरमा छुट्टै महाधिवेशन गर्ने गरी कार्यतालिका अघि सारेका थिए।
मंगलबार सार्वजनिक गरेको वक्तव्यमा उनले आफूलाई कुनै पदको लोभ नभएको उल्लेख गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका थिए।
उनले पार्टी विधान र संविधानअनुसार महाधिवेशनका लागि पर्याप्त समय बाँकी रहेको अवस्थामा सहमतिबिना विशेष महाधिवेशन अघि बढाइए पार्टीलाई कमजोर र विभाजित गर्ने प्रयास हुने भन्दै त्यसको साक्षी बनेर नबस्ने चेतावनी दिएका थिए।
देउवासँग अहिले डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, उमाकान्त चौधरी, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद, मोहन बस्नेत र कान्छाराम तामाङलगायतका नेता रहेको बताइएको छ।
यसैबीच सभापति गगन थापाले देउवालाई असोज १६ गते हुने महाधिवेशनको उद्घाटन गर्न आग्रह गरेका छन्।
केन्द्रीय समिति बैठकमा बोल्दै थापाले पूर्वसभापतिले महाधिवेशन उद्घाटन गर्नु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्।
थापाले पार्टी एकता कायम राख्न आफू अधिकतम लचकता अपनाउन तयार रहेको पनि बताएका छन्।
थापा नेतृत्वको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई पुरानै हैसियतमा कायम राख्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए।
अधिवेशनबाट कुनै पनि सदस्य वञ्चित नहुने गरी संगठनात्मक व्यवस्था मिलाइएको उनको भनाइ छ।
चालिसेले असन्तुष्ट पक्षले उठाएका माग सम्बोधन भइसकेको दाबी गर्दै अब पार्टीमा कुनै ‘इतर समूह’ नरहेको बताएका छन्।
उनका अनुसार डा. शेखर कोइराला, पूर्णबहादुर खड्का र शेरबहादुर देउवालाई समेत महाधिवेशन प्रक्रियामा सहभागी गराउन अन्तिम समयसम्म संवाद जारी राखिनेछ।
देउवा समूहका अधिकांश नेता थापा पक्षको प्रक्रियामा सहभागी भए पनि पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाको भूमिका भने अझै स्पष्ट भइसकेको छैन।
खड्कानिकट नेताहरू थापा पक्षमा पुगे पनि सर्वोच्च अदालतमा आफूले दायर गरेको मुद्दा विचाराधीन रहेकाले खड्का नैतिक रूपमा महाधिवेशन प्रक्रियामा सहभागी नहुने अडानमा रहेको बताइएको छ।
यता डा. शेखर कोइरालाले पनि पार्टी विवादमा आफू मध्यमार्गी भूमिकामा रहने संकेत गरेका छन्। उनले शुक्रबार वक्तव्य जारी गर्दै पार्टी विभाजनबाट आफू सहमत हुन नसक्ने र संवादमार्फत एकताको प्रयास गर्ने बताएका छन्।
उनले ‘को ठीक, को बेठीक’ भन्ने बहसमा पक्ष लिनुभन्दा पार्टी एकताका लागि पहल गर्ने धारणा सार्वजनिक गरेका छन्।
देउवा पक्षका नेता शंकर भण्डारीले केही नेताले साथ छाड्दैमा आफूहरूले अघि सारेको महाधिवेशन कार्यतालिका प्रभावित नहुने बताएका छन्।
केन्द्रीय समितिका केही सदस्यको उपस्थितिलाई आधार बनाएर सिंगो कांग्रेसको अवस्थाको मूल्यांकन गर्न नमिल्ने उनको तर्क छ।
भण्डारीले थापा पक्षमा सहभागी भएका केही नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूको अघिल्लो राजनीतिक अडान र अहिलेको भूमिकाबीच प्रश्न उठाएका छन्।
उनले कांग्रेसभित्र विदेशी प्रभावको विषयमा समेत प्रश्न उठाएका छन्। यद्यपि, सबै नेता त्यस्तो प्रभावमा रहेको आफ्नो दाबी नभएको उनले स्पष्ट पारेका छन्।
उनले पार्टीको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको बताउँदै निर्वाचन परिणाम, नेतृत्वको जवाफदेहिता र पार्टीको आगामी दिशाबारे आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन्।
भण्डारीले कांग्रेसलाई विचार, सिद्धान्त र मुद्दामा आधारित तथा एकताबद्ध पार्टीका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
उनका अनुसार अहिलेको विवादमा कुनै पक्ष आत्तिनुभन्दा गम्भीर भएर आत्मसमीक्षा र संवादमार्फत निकास खोज्न आवश्यक छ।
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल