Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि निर्णायक पहल थालेका छन्। संस्थापन इतर पक्षसँग संवादलाई तीव्र बनाउँदै उनले पार्टी एकता जोगाउने अन्तिम प्रयासस्वरूप नेताहरूसँग छलफल अघि बढाएका हुन्।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहले देशभर समानान्तर भेला सञ्चालन गर्दै नेतृत्वमाथि दबाब बढाइरहेका बेला सभापति थापामाथि चुनौती थपिएको छ। देउवा पक्षले सातै प्रदेशमा संगठन विस्तार र वैकल्पिक राजनीतिक रणनीतिबारे छलफल गरिरहेको सन्दर्भमा थापाले सहमतिको वातावरण बनाउन सक्रियता बढाएका छन्।
यसैक्रममा उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग यही साता छुट्टाछुट्टै संवाद गर्ने तयारी गरेका छन्। कांग्रेसभित्रको संस्थापन पक्षको बुझाइमा कोइराला अन्ततः पार्टीमै रहने सम्भावना बलियो छ।
पार्टीका एक पदाधिकारीका अनुसार गगन थापा र शेखर कोइरालाबीच निरन्तर संवाद भइरहेको छ। विशेष महाधिवेशन र पछिल्ला मनोनयनमार्फत कोइराला पक्षका धेरै नेता समेटिएकाले उनी पनि छिट्टै सहमतिमा आउने अपेक्षा गरिएको छ।
खड्कासँग भने जेठ १६ गते निर्णायक छलफल गर्ने तयारी रहेको बताइएको छ। सहमतिको प्रयास सफल नभए उनीहरूलाई आफ्नै राजनीतिक बाटो रोज्न दिनुपर्ने विकल्पबारे समेत नेतृत्वले सोचिरहेको स्रोतको भनाइ छ।
विशेष महाधिवेशनबाट पारित नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २२७ सदस्यीय हुने व्यवस्था गरिएको छ। सोही व्यवस्थालाई आधार बनाएर विभिन्न पक्षलाई समेट्ने रणनीतिमा सभापति थापा देखिएका छन्।
नयाँ विधानले सहमहामन्त्रीको संख्या ८ बाट ११ पुर्याएको छ भने १४ सदस्यीय पदाधिकारी संरचना विस्तार गरेर १७ सदस्यीय बनाइएको छ। विशेष महाधिवेशनबाट १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो। त्यसपछि सभापति थापाले १९ जना केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्।
हाल संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पदेन सदस्यसहित केन्द्रीय समितिमा १५४ सदस्य रहेका छन्। अझै ७३ जना सदस्य मनोनीत गर्न बाँकी छ। सभापति थापा देउवा र कोइराला पक्षका करिब ६० जनालाई केन्द्रीय समितिमा समेट्न सकारात्मक रहेको बताइन्छ।
स्रोतका अनुसार थापाले खड्का र कोइरालालाई ‘वरिष्ठ नेता’ को जिम्मेवारी दिने प्रस्ताव अघि सारेका छन्। उक्त प्रस्ताव स्वीकार गरे उनीहरू सभापति पछिको वरीयतामा रहनेछन्। साथै, सार्वजनिक रूपमा विवादमा नपरेका अधिकांश पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई पनि समेट्न सकिने संकेत नेतृत्वले दिएको छ।
यद्यपि, खड्का र कोइरालासँग छुट्टै सूची मागेर भागबण्डाको आधारमा मनोनयन गर्ने पक्षमा सभापति थापा नरहेको बताइएको छ। नेतृत्वले सहमतिलाई गुटगत बाँडफाँटको सन्देश नजाने गरी अघि बढाउन चाहेको छ।
कोइराला पक्षका बद्री पाण्डे, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, सञ्जय गौतम, सरिता प्रसाईं, दीपक गिरी र किरण यादवलगायत नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने तयारी रहेको स्रोतको दाबी छ। तर सहकारी बचत हिनामिनाको आरोप सामना गरिरहेका धनराज गुरुङलाई भने मनोनयन नगर्ने संकेत संस्थापन पक्षले दिएको छ।
शेखर कोइराला सभापति थापाको प्रस्तावप्रति केही सकारात्मक देखिएको बताइन्छ। उनले आफ्नो राजनीतिक भूमिकाको सुनिश्चिततामा चासो राखेका छन्। तर पार्टी सरकारमा नरहेकाले तत्काल कुनै महत्वपूर्ण जिम्मेवारी दिन सक्ने अवस्था नरहेको नेताहरूको भनाइ छ।
यता खड्का र कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वर्तमान संरचनासँग पूर्ण रूपमा मर्ज गर्नुपर्ने अडान राखिरहेका छन्। तर त्यसो गर्दा आफू अल्पमतमा पर्न सक्ने आशंकाले सभापति थापा उक्त प्रस्तावप्रति सहमत छैनन्। दुवै कार्यसमिति जस्ताको तस्तै गाभिए सदस्य संख्या ३०१ पुग्ने अवस्था छ।
विवाद समाधानका क्रममा उपसभापति विश्वप्रकाश शर्माको भूमिकालाई लिएर पनि प्रश्न उठ्न थालेका छन्। संस्थापन इतर पक्षले सहमति प्रक्रियामा शर्मा बाधक बनेको आरोप लगाएको छ। खड्कानिकट स्रोतका अनुसार थापासँग छलफल सकारात्मक भए पनि अन्तिम निर्णयमा शर्मा कारण बनेर निष्कर्ष ननिस्किएको गुनासो उनीहरूले गरेका छन्।
देउवा पक्षले विशेष महाधिवेशन रोक्ने पूर्वसहमति समेत शर्माकै कारण भंग भएको आरोप लगाउँदै आएको छ। अर्कोतर्फ शर्मानिकट नेताहरू भने उनी गुटबन्दी अन्त्य गरेर पार्टीलाई संस्थागत ढंगले अघि बढाउन प्रयासरत रहेकाले केही समूह असन्तुष्ट बनेको दाबी गर्छन्।
कांग्रेसभित्रको शक्ति सन्तुलन, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक रणनीतिका बीच सभापति थापाको मेलमिलाप प्रयास सफल हुन्छ कि हुँदैन भन्ने चासो अहिले पार्टी वृत्तमा केन्द्रित बनेको छ।
२०८३ जेष्ठ ११
ताजा नेपाल
२०८३ जेष्ठ ११
ताजा नेपाल
२०८३ जेष्ठ ११
ताजा नेपाल