Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई समयानुकूल बनाउन युवा नेतृत्वलाई सहज रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले परिवर्तन र युवा सहभागितालाई विधि, प्रक्रिया र पार्टीको स्थापित पद्धतिअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।
पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै शर्माले देउवाबाट पार्टीका सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा व्यक्त गरे। देउवाले आफ्नो लिखित अभिव्यक्तिमार्फत परिवर्तनलाई आत्मसात गर्दै युवालाई नेतृत्वमा अघि बढाउने प्रतिबद्धता जनाएको सन्दर्भ उल्लेख गर्दै शर्माले त्यसलाई पार्टीको आगामी दिशासँग जोडेर अघि बढाउनुपर्ने बताए।
शर्माले कांग्रेस अहिले विधि र प्रक्रियामार्फत परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै युवा नेतृत्वप्रति उदार बन्नुपर्ने धारणा राखे। उनका अनुसार ३६ वर्षको उमेरमा युवा देशको प्रधानमन्त्री बन्न सक्ने राजनीतिक वातावरण स्वीकार गरिसकेको अवस्थामा करिब ५० वर्षको उमेर समूहका नेताले पार्टीको नेतृत्व गर्न खोज्दा त्यसलाई पनि सहज रूपमा स्वीकार गर्न सक्नुपर्छ।
उनले विधि र पद्धतिबाट अघि आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसकिए पार्टीभित्रै गम्भीर प्रश्न खडा हुने बताए। देशको कार्यकारी नेतृत्वमा युवालाई स्वीकार गर्न सक्ने कांग्रेसले पार्टी नेतृत्वमा पनि नयाँ पुस्तालाई अवसर दिने उदारता देखाउनुपर्ने उनको भनाइ थियो।
शर्माको भनाइले कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र आगामी महाधिवेशनको दिशाबारे चलिरहेको बहसलाई थप बल दिएको छ। पार्टीको परम्परागत नेतृत्व र नयाँ पुस्ताबीच सन्तुलन कायम गर्दै परिवर्तनलाई संस्थागत गर्नुपर्ने उनको जोड छ।
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल