Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै काठमाडौंको महाराजगन्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ। पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरिरहेको इतर पक्षले पार्टी कार्यालयकै स्वरूप झल्किने गरी दुईतले भवन भाडामा लिएर कार्यालय सञ्चालनको तयारी थालेको हो।
रामेछापका निलम्बित सभापति कान्छाराम (पूर्णबहादुर) तामाङको अग्रसरतामा खोलिएको कार्यालय साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको छ। मासिक साढे तीन लाख रुपैयाँ भाडा रहेको भवनमा १२ वटा कोठा, दुई वटा हल तथा १५–२० वटा सवारी पार्किङ गर्न मिल्ने व्यवस्था छ।
तामाङका अनुसार यो पार्टी कार्यालय नभई महाधिवेशनको तयारीका लागि खोलिएको सम्पर्क कार्यालय हो। उनले नियमित महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको बताए।
गत साता इतर पक्षका शीर्ष नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, एनपी साउद, रमेश लेखकलगायतको उपस्थितिमा कार्यालय स्थापनाको निर्णय गरिएको थियो। नयाँ बानेश्वरमा हेरिएको भवनको वास्तु अनुकूल नभएकाले अन्ततः चुनदेवीको भवन रोजिएको नेताहरूले बताएका छन्।
कांग्रेस नेता मीन विश्वकर्माले संस्थापन पक्षसँग सहमति भए साझा महाधिवेशन र सहमति नभए छुट्टै महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय स्थापना गरिएको बताए। उनका अनुसार कार्यालय केही दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
हाल भवनमा रङरोगन, सरसफाइ तथा मर्मतको काम भइरहेको छ। पछिल्ला केही दिनदेखि कार्यालयमा सुरक्षा गार्ड पनि राखिएको छ भने सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी कान्छाराम तामाङले सम्हालिरहेका छन्।
इतर पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। अब काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्। सोही राष्ट्रिय भेलाबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिने तयारी छ।
इतर पक्षका नेता विमलेन्द्र निधिले हालसम्म साझा महाधिवेशनकै पक्षमा रहेको बताए पनि सहमति नभए छुट्टै महाधिवेशनको तयारी अगाडि बढाइने स्पष्ट पारे। उनका अनुसार प्रदेश भेलापछि राष्ट्रिय भेला बोलाइने र त्यसबाट नयाँ रणनीति तय गरिनेछ।
नेता पूर्णबहादुर खड्काले पनि संस्थापन पक्षसँग सहमति नभए करिब ९ लाख १३ हजार क्रियाशील सदस्यको आधारमा छुट्टै महाधिवेशन आयोजना गर्ने तयारी भइरहेको निकट नेताहरूसँग बताइरहेका छन्।
यसबीच नेता शशांक कोइरालाको सक्रियता पनि बढेको छ। उनले पार्टी एकताको पक्षमा आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै आवश्यक परे जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताएका छन्।
उता संस्थापन पक्षले भने विवाद समाधानका लागि संवादलाई निरन्तरता दिएको छ। महामन्त्री गुरुराज घिमिरेले पछिल्ला दिनमा शेखर कोइराला, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेटवार्ता गर्दै महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन प्रयास भइरहेको बताएका छन्।
यद्यपि दुवै पक्षबीच सहमति जुट्न नसके कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर समानान्तर तयारी अझ तीव्र हुने संकेत देखिएको छ।
२०८३ असार १७
ताजा नेपाल
२०८३ असार १७
ताजा नेपाल
२०८३ असार १७
ताजा नेपाल