Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सञ्चालनको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र पुनः रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनको तयारी थालिएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनको तयारी थालिएको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा विभिन्न सरोकारवाला निकायसँग बुधबार यस विषयमा छलफल भएको हो । विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौँ महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिनापछि महासंघले सेवा बन्द गरेको थियो ।
अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रिकालीन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिए ।
मेयर शाक्यले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुवातसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मेयर शाक्यले सुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालिन सेवा दिने गरी योजना बनाएर ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरे ।
मेयर शाक्यले प्रदेश सरकार र केन्द्र सरकार समेत सकारात्मक रहेको भन्दै यो सेवाले रात्रिकालीन व्यवसायको चहल–पहल बढ्ने र त्यसले पर्यटन वर्ष २०२० लाई पनि थप सहयोग पुग्ने बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालिन गर्ने कुराको ग्यारेण्टी महासँघले गर्नुपर्नेमा जोड दिए । महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले पनि रात्रिकालीन व्यवसायलाई प्रर्वद्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।


सम्बन्धित समाचार