Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कारागारमा कोरोना फैलियो, एकको मृत्यु

विराटनगर । विस्तारै उकालो लाग्न थालेको कोरोनाको ग्राफले राम्रो संकेत देखाएको छैन । मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । यसै क्रममा एक कैदीको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कैदीबन्दीलाई अत्याधिक ज्वरो आएपछि कोसी अस्पतालमा उपचार गर्ने क्रममा एन्टिजेन परीक्षण गर्दा १८ मध्ये १६ को रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा यज्ञ खरेलले बताए । कोसी अस्पतालमा उपचार भइरहेका एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएका १६ जना कैदी बन्दी । उनीहरुलाई कोभिड अस्पतालमा सार्ने तयारी गरिएको छ । उनकाअनुसार एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ हुने ९९ प्रतिशतलाई कोभिड हुने निश्चित हुन्छ । उनीहरुलाई कोसीको कोभिड अस्पतालमा सारेर उपचार गर्ने तयारी भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले बताए । अस्पताल र कारागारको स्थलगत अनुगमनमा रहेका दाहालका अनुसार कारागारका सबै कैदीबन्दीको ज्वरो परीक्षण गरेर शंकास्पदलाई आइसोलेट गर्ने तयारी भइरहेको छ । यसअघि यहाँका सबै कैदीबन्दीलाई कोभिडको दोहोरो भ्याक्सिन लगाइएको थियो ।
उनकाअनुसार कोभिड संक्रमण देखा पर्न थालेपछि सबै सीमारनाकामा स्वास्थ्य परीक्षण सुरु गरेर स्थानीय निकायलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन र कोभिड परीक्षणको प्रक्रिया थाल्न आग्रह गरिएको छ । उनले कोभिड संक्रमितको उपचारका लागि सबै आइसोलेसनलाई पुनः प्रयोगमा ल्याउने तयारी गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार १०५ डिग्रीसम्म ज्वरो आएका ज्यान मुद्दाका कैदी नीरबहादुर नेपालको उपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक गर्मी र साँघुरो स्थानले कारागारमा कैदीबन्दीलाई सकस हुँदै आएको छ । करिब तीनसय अट्ने क्षमताको मोरङ कारागारमा करिव एक हजार कैदीबन्दी राखिएको छ ।