Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन जाँदैछन् प्रधानसेनापति आधा महिने लामो अष्ट्रेलिया भ्रमणमा

प्रधानसेनापति प्रभुराम शर्मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा भाग लिन आगामी साता अष्ट्रेलिया जाने भएका छन्। अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्समा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुख सहभागी हुनेछन्। त्यही सम्मेलनमा प्रधानसेनापति शर्मा पनि जान लागेका हुन्। शर्मा साउन ७ गते अष्ट्रेलियाका लागि प्रस्थान गर्नेछन्।
मन्त्रिपरिषद् बैठकले उनको अष्ट्रेलिया भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। सैनिक मुख्यालय जग्गीअड्डाको प्रस्ताव रक्षा मन्त्रालय हुँदै अघिल्लो साता मन्त्रिपरिषद् पुगेको थियो। मन्त्रिपरिषद् स्रोतका अनुसार सेनाले साउन ७ देखि २२ सम्मका लागि १५ दिनको बिदा शर्माको स्वीकृतिका लागि पठाएको थियो।
सैनिक प्रवक्ता नारायण सिलवालले उक्त कन्फ्रेन्स हरेक बर्ष फरक—फरक देशमा हुने नियमअनुसार यसपाली अष्ट्रेलियाले आयोजना गर्न लागेको बताए। कहिले सिंगापुर, कहिले हवाई, कहिले अष्ट्रेलियामा यो सम्मेलन हुन्छ। प्रायजसो सम्मेलन वार्षिक रुपमा आयोजना हुन्छ, सिलवालले भने, नेपालबाट सेना प्रमुखको सहभागिता रहने गरेको छ। प्रधानसेनापति साउन ११ गतेसम्म कन्फ्रेन्समा सहभागी भएपछि थप ११ दिन अष्ट्रेलियामै रहनेछन्।
साउन १२ पछि अष्ट्रेलियामै उहाँको पारिवारिक भेटघाट छ। त्यहीअनुसार बिदा स्वीकृत भएको छ, सिलवालले अगाडि भने। प्रधानसेनापति शर्मा साउन २२ गते स्वदेश फर्किने कार्यक्रम छ। उनले दुई साताअघि मात्रै अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। अमेरिकामा रहँदा शर्माले अमेरिकी उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्डको पहलमा उक्त सम्मेलन आयोजना हुन लागेको हो। अमेरिकाले इन्डो–प्यासफिक क्षेत्रका सैनिक नेतृत्वसँग रणनीतिक सम्बन्ध विस्तारका लागि सैनिक प्रमुखहरुको सम्मेलनलाई महत्वपूर्ण फोरमका रुपमा अघि बढाएको छ। अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्ड र अस्ट्रेलियाले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन्। सम्मेलनमा अमेरिकी सेनाका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। भूराजनीतिक र सामरिक अवस्थितिका कारण अमेरिकाले अस्ट्रेलियालाई इन्डो–प्यासिफिक क्षेत्रको महत्वपूर्ण मुलुक मान्दै आएको छ।
अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले नेपाली सेनासँग रणनीतिक साझेदारीका लागि विभिन्न प्रस्ताव अघि सार्दै आएको छ। एक महिना अघि नेपाल आएका युएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल जनरल चार्ल्स ए फ्लिनले इन्डो प्यासिफिक रणनीतिको एक प्रमुख अंग रहेको स्टेट पार्टनरसिप कार्यक्रम ९एसपीपी० सम्बन्धी सैन्य सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मालाई आग्रह गरेका थिए। सम्झौतामा हस्ताक्षरका लागि प्रधानमन्त्री देउवा शुरुमा सकारात्मक भए पनि विवाद बढ्न जाँदा पछि हटेका थिए।