Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन भाँडियो कुलमान र रविको पार्टी एकता

काठमाडौं । वैकल्पिक शक्तिहरु एक ठाउँमा उभिएको हेर्ने जनताका चाहना तत्काल पुरा हुने अवस्था देखिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकताको सम्भावना तत्काल सकिएको ती पार्टीका नेताहरूले बताएका छन्। रास्वपाका शीर्ष नेता र वार्ता टोलीसँग पटकपटक भएको छलफलमा कुनै सहमति नजुटेको उनेपाका नेताहरू बताउँछन्। उनेपाले रास्वपासँग एकताको सम्भावना तत्कालका लागि सकिएको निचोड निकालेको छ। रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङ दुवै जना अडानबाट टसमस नभएपछि एउटै पार्टी बनाएर फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा होमिने सम्भावना पनि सकिएको छ। रास्वपाको चुनाव चिह्न लिएर चुनावमा जान आफूहरू तयार भइसके पनि केही विषयमा समझदारी नबनेको उनेपाका नेता जीतराम वाइबाको भनाइ छ। निर्वाचन आयोगले चुनाव चिह्न छान्न मंसिर १९ गतेसम्मको समय दिएको थियो। सोही अनुसार रास्वपासँग एकताको लागि अन्तिम प्रयास गरे पनि कुरा नमिलेको वाइबाले बताए। रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा उच्चस्तरीय वार्ता समिति बनाएको थियो। जसमा शिशिर खनाल सदस्य छन्। त्यसबाहेक पुकार बम लगायतका नेताले पनि वार्ता गरिरहेका छन्। तर, पछिल्लो एकहप्ता यता औपचारिक वार्ता नभएको उनेपाका नेता वाइबाले बताए। रास्वपासँग एकता प्रक्रिया लगभग सकिएपछि उनेपाले संगठन विस्तारलाई तीव्र पारेको उनको भनाइ छ। पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा गठन भएको उनेपाले निर्वाचन आयोगमा ५१ जना केन्द्रीय सदस्यको विवरण बुझाएको थियो। जसमा कुलमान घिसिङको नाम राखिएको छैन। तर, मंसिर १७ गते पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि घिसिङ नै थिए। अहिले उनी विभिन्न जिल्लामा राजनीतिक सम्बोधन गर्दै हिँडेका छन्। उता, रास्वपाका प्रवक्ता मनीष झा भने उनेपासँग अझै एकता हुनसक्ने बताउँछन्। रास्वपा, बालेन र उनेपाका नेताबीच त्रिपक्षीय छलफल भएको थियो। तर, आआफ्ना स्वार्थ भएपछि सहमति नजुटेको नेताहरू सुनाउँछन्। उनेपाका अर्का नेता गणेश घिसिङ पनि रास्वपासँगको एकता प्रक्रिया अन्त्य भएको बताउँछन्। रास्वपा र उनेपाका नेताहरूबीच एकता गरेर जान जुटिसकेको सहमति अन्त्यमा भंग भएको उनेपाका एक नेताले बताए।
एउटै पार्टी बनाउने प्रयास तत्कालका लागि सफल नभए पनि रास्वपा र उनेपाबीच चुनावमा सहकार्य हुने दुवै पक्षका नेताहरूको भनाइ छ। उनेपाका नेता गणेश घिसिङले चुनावमा कार्यगत एकताको लागि छलफल भइरहेको बताए। रास्वपाबाट वार्ता समितिमा रहेका शिशिर खनालले पनि सो कुरा स्वीकार गरे।

बालेनमाथि ठूलो भरोसा
उनेपाका नेताहरू काठमाडौँ महानगपालिकाका मेयर बालेन (बालेन्द्र) शाहको साथ लिएर पार्टी चुनावमा जाने माहोल बनेको बताउँछन्। त्यसका लागि बालेनले कुलमानलाई आश्वस्त पारिसकेका छन्। केही दिनअघि मात्र बालेनका सहयोगीहरूले नख्खु कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग पनि भेट गरेका थिए। बालेनले रास्वपा र कुलमानसँग समानान्तर छलफल गरिरहेका छन्। तर, कुलमान बालेनलाई आफूसँगै राख्ने प्रयासमा छन्। पितृशोकमा रहेका बालेनलाई भेट्न उनी दुई पटक पुगिसकेका छन्। यद्यपि, उनेपाका केही नेताहरू बालेनको भर पर्न नहुने बताउँछन्।


सम्बन्धित समाचार