Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनआक्रोशको बलमा स्थापित सरकारका सामू ठूला चुनौती छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तारको कसरत थालेकी छन्। मन्त्री छान्न उनले केही मापदण्ड तयार गरेकी छन्। जेन–जी प्रदर्शनकारीको रोजाइमा चुनाव गराउने म्यान्डेट लिएर भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले ११ जनाभन्दा बढी मन्त्री नबनाउने बताइसकेकी छन्। संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइन्छ। धेरै मन्त्री नबनाउने। खर्च मात्रै हुन्छ, बालुवाटारको तयारी यस्तोछ । भदौ २९ गते अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा, सिँचाइ तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा भवन निर्माणमन्त्रीमा कुलमान घिसिङ अनि गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन्। बाँकी ७ जना मन्त्री बनाउन उनले परामर्श गरिरहेकी छन्। जेन–जीको समेत सुझाव लिएर समावेशी आधारमा छिट्टै मन्त्री नियुक्त गर्ने उनको तयारी छ। बालुवाटार स्रोतका अनुसार रक्षा मन्त्रालय आफैँसँग राख्ने उनको चाहना छ। अन्य मन्त्रालयका लागि योग्य व्यक्तिको खोजी भइरहेको स्रोतको भनाइ छ। रक्षा आफैँसँग राख्नुहुन्छ। परराष्ट्र सहित बाँकी मन्त्रीबारे विभिन्न पक्षसँग छलफल भइरहेको छ,स्रोतले भन्यो, मन्त्री बन्न खोज्नेको संख्या धेरै छ, जो मन्त्री बन्न आउँछु भन्छ, तिनीहरूको योग्यता छैन, जसलाई मन्त्री बनाउन खोज्यो, उनीहरू मान्दैनन्। यसअघि विभिन्न क्षेत्रमा विज्ञता र काम गरेर जनताको मन जितेका व्यक्तिलाई मन्त्री बनाएकोले सकारात्मक सन्देश गएको भन्दै अब बाँकी मन्त्री पनि गैरदलीय र सम्बन्धित क्षेत्रको विज्ञलाई मात्र बनाउने कार्कीको भनाइ छ। बुधबार कार्कीले तीनैजना मन्त्रीसँग यसैबारे परामर्श गरेकी थिइन्। संविधानमा व्यवस्था भएबमोजिमको समावेशीलाई प्राथमिकता दिएर अब मन्त्री नियुक्त गर्न लागेको बताएको एक मन्त्रीको भनाइ छ। ती मन्त्रीका अनुसार मन्त्री छान्न एउटा मापदण्ड तयार गरिएको छ। स्वच्छ छवि, दलीय आबद्धता नभएको, विषय विज्ञ र जनताको विश्वास जितेका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने निचोडमा पुगिएको छ, ती मन्त्रीले थपे, चुनावसम्मको लागि भए पनि केही काम गरेर देखाउनसक्ने मान्छे नै ल्याउनुपर्छ भन्ने निष्कर्ष निस्किएको छ। बालुवाटार स्रोतका अनुसार पूर्वप्रशासक, सुरक्षा निकायमा काम गरिसकेकादेखि सामाजिक क्षेत्रमा चर्चित केही व्यक्तिहरूले पनि मन्त्री बन्न चासो देखाएका छन्। यद्यपि, प्रधानमन्त्री कार्की मन्त्री बन्न पाऊँ भन्नेलाई बनाउने पक्षमा छैनन्। बरु समाजमा योगदान दिएर ख्याति कमाएका केही व्यक्तिलाई बालुवाटार बोलाएर मन्त्री बनिदिन उनी आफैँले प्रस्ताव राखेको स्रोतको भनाइ छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल