Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहेका बेला पार्टीका केही नेताहरू भने तत्काल माओवादीसँग हुने एकताको विपक्षमा उभिने भएका छन् । एकताको विपक्षमा उभिने तयारी गरेका नेताहरूले एकीकृत समाजवादी नै पुनर्गठन गर्ने वा एमालेमा समाहित हुने भन्नेबारे आन्तरिक छलफल जारी राखेका छन् । एमालेसँग विद्रोह गरेर २०७८ सालमा गठन भएको एकीकृत समाजवादीमा माओवादीसँग पार्टी एकता गर्नुपर्छ भन्नेमा अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसालसहित बहुमत केन्द्रीय कमिटीका सदस्य रहेका छन् भने यही पार्टी पुनर्गठन वा एमालेसँग एकता गर्नुपर्छ भन्नेमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्री लगायत अल्पमत सदस्य रहेका छन् । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । खनाल भुसालसँग करिब एक सय भन्दा बढी केन्द्रीय सदस्य रहने बताइएको छ । बुधवार सुरु भएको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी भएको सङ्केत गरेपछि यसअघि पार्टी पुनर्गठन भन्दै आएको तर सारमा माओवादीसँग भन्दा एमालेसँग एकता गर्नुपर्छ भन्ने चाहानामा रहेको अल्पमत पक्षले एकताको आधार तय भइनसकेको भन्दै विरोध गर्ने तयारी गरेको छ । उक्त पक्षले केन्द्रीय कमिटीको दोस्रो दिन आज बिहीबारदेखि हुने अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता बेदुराम भुसालको पार्टी एकताका सम्बन्धमा भएको छलफल र प्रगतिबारेको ब्रिफिङमा आधारित रहेर ‘प्रतिवाद’ गर्ने रणनीति अख्तियार गरेको बताइएको छ । अल्पमत पक्षले विरोध गरेपनि अध्यक्ष नेपाल माओवादीसँगको एकता रोक्ने पक्षमा छैनन् । एकीकृत समाजवादीले विचार मिल्ने पार्टीहरूसँग एकताका लागि वार्ता गर्न नेता बेदुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो । संयोजक भुसालले बुधवारको बैठकमा पार्टी एकताका लागि पाँच वटा दलसँग छलफल भएको भन्दै प्रगति विवरण सुनाएका थिए । त्यसक्रममा उनले माओवादी र महिन्द्र यादव नेतृत्वको नेसापासँग एकताको गृहकार्य अन्तिम चरणमा पुगेको ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले ती दुई पार्टीसँग सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा प्राय सबै विषय मिलेको भन्दै पार्टीको नाम, चुनाव चिह्नलगायतमा अन्तिम निर्णय गर्न बाँकी रहेको बैठकलाई जानकारी गराएका थिए । नेता भुसालले माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) वा नेकपा समाजवादीमध्ये एक नाम राख्ने राख्ने लगभग सहमति भइसकेको बैठकलाई जानकारी गराएका थिए । त्यस्तै एकीकृत पार्टीको चुनाव चिह्न तारा वा कलम मध्ये एक रहने पनि भुसालको भनाइ थियो । त्यस्तै एकीकृत पार्टीको केन्द्रीय नेतृत्वमा संयोजक वा सहसंयोजक रहने र ती पदमा क्रमशः पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल रहनेगरी छलफल चलिरहेको पनि भुसालको ब्रिफिङ रहेको थियो । पार्टी एकताको ६ महिनाभित्र एकताको सम्मेलन गर्ने र उक्त सम्मेलनबाट नयाँ कार्यसमिति चयन गर्नेगरी छलफल भइरहेको नेताहरूको भनाइ छ । यसअघि केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एकताका लागि आधारभूत केही विषय अघि सार्दै विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँगको एकतामा ढिलाइ गर्न नहुने आशयको राजनीतिक प्रतिवेदन नै पेस गरेका थिए । नेताहरूका अनुसार अध्यक्ष नेपाल फागुन २१ को चुनावका लागि दल दर्ताको समय कात्तिक ३० अगावै माओवादीसँग एकता घोषणा गर्ने तयारीमा छन् । तर सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपालले पार्टीलाई क्रान्तिकारी बनाउनुको साटो विसर्जन र विलयको बाटो लिएकाले माओवादीसँगको एकतामा आफूहरू सहमत नहुने बताए ।यसअघि सो पार्टीका एक पदाधिकारीले माओवादीसँग पार्टी एकता भए तीन टुक्रा हुने विश्लेषण सुनाएका थिए । नेपालमाथि प्रश्न उठाउँदै आएका खनाललगायतका नेताहरूले बिहीबारको बैठकमा आफ्ना कुरा कडा ढंगले राख्ने तयारी गरेका छन् । त्यसका लागि नेता खनाल र महासचिव भुसालले पहिला बोल्नेछन् । माधव नेपाल समूहबाट एकताको पक्षधर राजेन्द्र पाण्डे र जगन्नाथ खतिवडाले बोल्नेछन् । चार नेताले धारणा राखेपछि अन्य केन्द्रीय सदस्यलाई बोल्न फ्लोर ओपन गर्ने तयारी छ । पार्टीका वरिष्ठ उपाध्यक्ष तथा एकताको पक्षमा रहेका राजेन्द्र पाण्डेले ‘मेरो के हुन्छ ?’ भन्ने मानसिकताका कारण केहीले एकताको विरोध गरेपनि पार्टी कमिटीमा स्पष्ट आइनसकेकाले यसै हुन्छ भन्न नसकिने बताएका छन् । पार्टीका बहुमत सदस्य माओवादीसँग एकताको पक्षमा रहेपनि अल्पमत पक्ष यही पार्टीमा बस्ने सङ्केत देखिएको छ नि ? भन्ने प्रश्नमा पाण्डेले अस्वीकार गर्न सकेनन् । उनले भने, त्यो पनि ठिकै छ । तर हामी कति नयाँपन दिएर जानसक्छौँ त्यसमा पनि भर पर्ला । पार्टीको नाम, चुनाव चिह्न र कार्यक्रम आफूहरूले भन्दै आएको लागू भयो भने अलग बस्नु जरुरी नरहेको पाण्डेको भनाइ छ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल